तालिबानलाई पंजशिर प्रान्त हात पार्न नदिनका लागि कठोर प्रतिकार गरेका अहमद मसूदले हार मानेपछि पंजशिरका बासिन्दाहरू तालिबानको कारवाहीमा परिएला भनी डराएका छन् ।
अलजजीराले प्रकाशन गरेको रिपोर्टमा उल्लेख गरिएअनुसार, तालिबानले पंजशिरमा इन्टरनेट तथा सञ्चारका अन्य माध्यम रोकिदिएकाले कमान्डरहरूले लडाकूहरूलाई निर्देशन दिन नै सकेनन् । लडाइँमा हारका लागि त्यो पनि मुख्य कारण रह्यो ।
हालैका दिनमा काबुल तथा विदेशमा रहेका पंजशिरीहरूले परिवारबाट अद्यावधिक सूचना पाउन सकेका छैनन् ।
पंजशिरका एक सर्वसाधारणले नाम नखुलाउने शर्तमा अलजजीरालाई टेलिफोनमा बताएअनुसार, पंजशिरमा फसेका एक लाख ३० हजार मानिसको स्थिति जोखिममा छ ।
पंजशिरमा आधारभूत आवश्यकताका सामानको चरम अभाव छ । एक हप्तादेखि तालिबानले काबुलबाट पंजशिर जाने सडक अवरुद्ध गरेका छन् । उपत्यकामा सामान पुर्याउन लगभग असम्भव छ ।
‘मानिसहरू घरमा भएका खानेकुरा हप्तौंदेखि खाएर बसिरहेका छन् । पसल र बजार सबै रित्तै छन्,’ उनले बताए ।
तालिबान लडाकूहरूको आक्रमणपछि उनी जस्ता हजारौं मानिस पहाडी क्षेत्रतर्फ भागेका छन् । अस्पताल र औषधि पसलमा पनि अभाव देखिएको छ ।
सोमवार पत्रकार सम्मेलनमा तालिबान प्रवक्ता जबीउल्लाह मुजाहिदले पंजशिर अब इस्लामिक अमिरातको पूर्ण नियन्त्रणमा आएको बताए ।
पंजशिरका स्थानीयले बताएअनुसार, तालिबान लडाकूहरूले स्थानीयलाई राम्रै व्यवहार देखाएका छन् र सामान्य जीवनमा फर्किनका लागि उत्प्रेरित गरेका छन् । तर धेरै पंजशिरीहरू तालिबानलाई विश्वास गर्न हिचकिचाइरहेका छन् ।
तालिबानका एकथरी लडाकूहरू हिंस्रक र आक्रामक व्यवहार देखाइरहेका छन् । उनीहरू घरघरमा गएर आफूलाई मन परेको कुरा उठाइरहेका छन् अनि मानिसहरूसँग दुर्व्यवहार गरिरहेका छन् ।
सोमवारको पत्रकार सम्मेलनमा मुजाहिदले पंजशिरमा रहेका सबै तालिबान अधिकारीहरू स्थानीय नै भएको बताए ।