२४ जेठ २०८३, आइतबार

असम्बन्धित घटनामा निर्माण व्यवसायी पक्राउ गरिएकोमा महासंघको आपत्ति

भदौ २२, २०७८
असम्बन्धित घटनामा निर्माण व्यवसायी पक्राउ गरिएकोमा महासंघको आपत्ति

दाङको सिस्नेखोलामा बाढीले गाडी बगाउँदा भएको मानवीय क्षतिलाई लिएर जिल्ला प्रशासन कार्यालय दाङले कानूनी अधिकार क्षेत्रभन्दा बाहिर गई संविधानकोे बर्खिलाप नेपाल निर्माण व्यवसायी महासंघले सदस्य रहेका संस्थालाई पक्राउ गरेकामा आपत्ति जनाएको छ ।

प्रशासनले श्री एडभेन्चर/जेबीका यज्ञबहादुर खत्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासंघका महासचिव रोशन दाहालले मंगलवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनी र सडक डिभिजन कार्यालय दाङबीच सम्झौता भई सिस्नेखोला निर्माण सञ्चालन भई अन्तिम चरणमा पुगेको समयमा कोभिड–१९ को पहिलो र दोस्रो लहरका कारण विभिन्न जिल्लामा जारी बन्दाबन्दी र निषेधाज्ञाका कारण आवतजावतमा कठिनाइ, निर्माण सामग्रीको अभावलगायत बर्सातको मौसमका कारण समयमा कार्य सम्पन्न गर्न कठिनाइ भएको व्यहोरा विदितै रहेको महासंघले जनाएको छ ।

यसरी सार्वजनिक खरिद ऐन/नियम र प्रचलित करार कानून एवं करार सम्झौताबमोजिम सार्वजनिक निकायबाट कारबाही गर्नुपर्ने भएमा सोही निकायबाट कारबाही हुनुपर्नेमा जिल्ला प्रशासन कार्यालय दाङले आफ्नो कानूनी अधिकार क्षेत्रभन्दा बाहिर गई खत्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेबाट कानूनी शासनको खिल्ली उडेको महासंघको भनाइ छ । जिल्ला प्रशासन कार्यालय दाङको यस कदमले संविधानप्रदत्त नागरिकको मौलिक एवं मानव अधिकारको प्रत्यक्ष हनन भएको महासंघका महासचिव दाहालद्वारा मंगलवार जारी विज्ञप्तिमा उल्लेख छ । 

भदौ १६ गते राति करिब ११ बजे निर्माणस्थल भएको खोलामा बाढी आएको अवस्थामा साइडमा रोकी रहेका गाडी चालक तथा प्रत्यक्षदर्शीले ‘खोला ठूलो छ गाडी नहाल’ भन्दा भन्दै जबर्जस्ती गाडी खोलाबाट पार गराउन खोज्दा खोलाले बगाई भएको मानवीय क्षति खत्रीसँग सम्बन्धित र सरोकार नै नभएको महासङ्घको भनाइ छ । यस विषयमा खत्रीलाई समेत जोडी मान प्रतिष्ठा र इज्जतमा आँच पुर्‍याउने र मानवीय काबु बाहिरको प्राकृतिक प्रकोपका कारण भएको घटनालाई निजसँग जोडी पक्राउ पुर्जी जारी गर्ने काम निन्दनीय भएको महासंघको ठहर छ । 

गत भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकबाट सम्पूर्ण ठेक्कालाई हुने गरी निर्माण व्यवसायीको निवेदनका आधारमा सम्बन्धित बोलपत्र स्वीकृत गर्ने पदाधिकारीले म्याद थपको आवश्यकता र औचित्यका आधारमा त्यस्तो खरिद सम्झौताको बढीमा २०७८ साल चैत मसान्तसम्मका लागि म्याद थप गर्ने व्यवस्था भएको व्यहोरा समेत महासंघले विज्ञप्तिमार्फत सरोकार भएका सबै निकायमा अवगत गराएको छ ।

salt training

कमेन्ट गर्नुहोस्