
नेकपा एमालेका सांसदहरूले सभामुख अग्नि सापकोटाको भूमिमा निष्पक्ष नभएको भन्दै उनलाई ठेगान लगाउनु पर्ने बताएका छन् ।
बुधवार बसेको संसदीय दलको बैठकमा बहुसंख्यक सांसदहरूले सभामुखको भूमिका पार्टीको कार्यकर्ता जस्तो भएको आरोप लगाएका हुन् ।
संसद् भवन नयाँ बानेश्वरमा बुधवार बसेको संसदीय दलको बैठकमा बोल्ने बहुसंख्यक सांसदले सभामुखको भूमिकाप्रति आपत्ति जनाए । सांसद महेश बस्नेतले सभामुखको भूमिकाको बारेमा संसदीय दलमा छलफल गर्नुपर्ने बताए । ‘सभामुखज्यू आफ्नो संवैधानिक भूमिका भन्दा दलको मतियार बनेकोले जवाफ माग्नेतर्फ लाग्नुपर्छ,’ बस्नेतले भने ।
घनश्याम खतिवडाले सभामुखको भूमिकाप्रति एमालेका कार्यकर्ता रुष्ट रहेको बताए । ‘संसद् चल्न दिनु हुँदैन सभामुखलाई ठेगान लगाउनु पर्छ भन्ने तलका कार्यकर्ताको पनि भावना छ,’ खतिवडाले भने ।
पूर्वउपसभामुख समेत रहेकी डा. शिवमाया तुम्बाहाम्फेले सभामुखको गतिविधिको बारेमा बोल्नुपर्ने बताइन् ।
राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले संसद् चल्न दिन नहुने बताइन् । ‘सभामुखको गलत भूमिकाका कारण एमाले विभाजन भएको हो, अनाधिकृत सांसदलाई राखेर संसद् चल्न दिन हुँदैन भन्न चाहन्छु,’ न्यौपानेले भनिन् ।
लालबाबु पण्डितले आफूहरूको कुरा राखेर संसद् अवरुद्ध गर्नुपर्ने बताए । ‘संसद्मा राष्ट्रपतिको पत्र पढिसकेपछि हामीले उठाउन खोजेको विषय प्रस्तुत गरेपछि र अध्यादेश टेबल गर्न दिएपछि नेताहरू बोलेर, जबसम्म जवाफ आउँदैन सदनलाई अगाडि बढ्न दिनु हुँदैन,’ पण्डितले भने ।
सांसद पदम गिरीले अग्नि सापकोटाको भूमिका सभामुखको कुर्सीमा बस्ने हैसियत गुमाएको आरोप लगाए ।
बैठकको शुरूमा एमाले संसदीय दलका उपनेता एवं पूर्व उपसभामुख सुवास नेम्वाङले विगतमा गरिएका कारवाहीको विषयमा जानकारी गराएका थिए ।
बैठकले आज शुरू हुने संसद्को बैठकका कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय लिने संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिए ।