२७ जेठ २०८३, बुधबार

कारवाही गरिएका १४ सांसदलाई बैठकमा बस्न दिए संसद् अवरुद्ध गर्ने एमालेको तयारी

कारवाही गरिएका १४ सांसदलाई बैठकमा बस्न दिए संसद् अवरुद्ध गर्ने एमालेको तयारी

एमालेले कारवाही गरेको भनेको १४ जना सांसदलाई बैठकमा सहभागी हुन दिए संसद् बैठक नै चल्न नदिने तयारी एमालेले गरेको छ । 

आज संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले गैरसांसदलाई बैठकमा सहभागी हुन दिए बैठक चल्न नदिने बताएका छन् । 

आज दिउँसो ४ बजे संसद्को अधिवेशन बोलाइएको छ । एमालेले साउन २५ गतेको केन्द्रीय कमिटी बैठकले १४ जना सांसदलाई कारवाही गरेको पत्र भदौ १ गते संसद् सचिवालयमा दर्ता गरेको थियो । 

त्यसबेला संसद् चालु नरहेको हुँदा सभामुख अग्नि सापकोटाले सांसदको पद रिक्त भएको सूचना टाँस गर्नुपर्नेमा त्यसो नगरी एमाले विभाजनमा सहयोग गरेको आरोप एमालेले लगाउँदै आएको छ । 

कारवाही गरेको भनिएका माधव नेपालसहितका १४ सांसदहरू नेकपा एकीकृत समाजवादी दलमा आवद्ध छन् । एमालेबाट छुट्टिएर उनीहरू निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका हुन् । 

‘गैर सांसदलाई बैठकमा सहभागी हुन दिए त्यसको प्रतिवाद गर्छौं । संसद् बैठक चल्न दिदैनौँ,’ एमाले केन्द्रीय सदस्य तथा सांसद शेरबहादुर तामाङले बताए । 

कारवाही गरिसकेको सांसदलाई बैठकमा सहभागी हुन दिए सभामुखको गैरकानूनी काम हुने तामाङको तर्क छ । 

१४ जना सांसदको पद रिक्त भएको सूचना नटाँसेको भन्दै एमाले सभामुख अग्नि सापकोटाप्रति आक्रोशित छ ।

salt training

कमेन्ट गर्नुहोस्