
प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोध र नाराबाजीका कारण प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
एमालेले कारवाही गरेका १४ जना सांसदलाई पदबाट नहटाउन सभामुखले खेलेको भूमिकाको विरोधमा एमालेले नाराबाजी गरेको हो ।
एमाले सांसदहरू वेलमा आएर नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरिएको घोषणा गरेका हुन् ।
संविधानको धारा १०५ ले अदालतमा विचाराधीन विषयमा संघीय संसदमा छलफल गर्न बन्देज गरेको उल्लेख गर्दै विरोध नगर्न सभामुखले आग्रह गरेका थिए ।
सभामुख सापकोटाले प्रतिनिधि सभा नियमावलीको नियम २१ को खण्ड (ख), (ग) र (घ) सम्बन्धमा पनि एमाले सांसदहरूको ध्यानाकर्षण गराए ।
उक्त नियममा सभामुखले पदअनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने उल्लेख छ ।