
एएफसी महिला एसियन कप छनोट २०२२ अघि बंगलादेशसँग तय भएको २ मैत्रीपूर्ण खेल अन्तर्गत भोलि बिहीवार नेपालले भ्रमणकारी टोलीसँग पहिलो खेल खेल्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने खेलका लागि अखिल नेपाल फूटबल संघ (एन्फा) ले बुधवार पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
प्रि–म्याच कन्फरेन्समा दुवै देशका प्रशिक्षक नजिता निकाल्न आत्मविश्वासी भएको प्रतिक्रिया जनाए । २ मैत्रीपूर्ण खेलका लागि बंगाली टोली सोमवार नेपाल आइपुगेको हो ।
उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप २०२२ छनोटअघि बंगलादेशसँग २ मैत्रीपूर्ण खेल खेल्न लागेको छ । मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको र प्रतिस्पर्धा गर्न नेपाली टोली आतुर भएको नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बताए ।
छनोटअघिको अभ्यास खेलको रूपमा हेरिएको खेलमा दर्शकलाई अनुमति दिइने भएको छ । एन्फाले खेलको टिकट मूल्य सामान्यतर्फ २०० र भीआईपीमा ५०० रुपैयाँ तोकेको छ । एएफसी महिला एसियन कप २०२२ छनोट अन्तर्गत नेपाल समूह ‘एफ’मा रहेको छ । नेपाल सम्मिलित समूहमा हङकङ र फिलिपिन्स रहेका छन् ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । नेपालले छनोट खेल फिलिपिन्ससँग खेल्दै शुरूआत गर्ने तालिका रहेको छ । नेपालको पहिलो खेल फिलिपिन्ससँग असोज २ गते रहेको छ भने दोस्रो खेल हङकङसँग असोज ५ गते प्रतिस्पर्धा गर्नेछ । यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर असोज ८ गते हुनेछ ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउने छ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।