काठमाडौं, २ असार - सरकारले प्रदेश २ को निर्वाचन तीन महिना सार्दै अन्य तीन प्रदेशको चुनावमा सहभागी हुन आग्रह गरेपछि राजपाले त्यस विषयमा शुक्रबार निर्णय गर्ने भएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धिलगायत मागलाई पूर्वसर्तका रूपमा अघि सारेर निर्वाचनलक्षित आन्दोलन घोषणा गरेका राजपा नेताहरूले निर्वाचन सार्ने निर्णयमा आफ्नो समर्थन नरहेको भन्दै माग पूरा नभई निर्वाचनमा नजाने संकेत दिएका छन् । अध्यक्षमण्डलका नेता अनिलकुमार झाले पार्टीको शुक्रबार बस्ने बैठकमा छलफल हुने बताए ।
शुक्रबारको बैठकले 'विशेष निर्णय' लिने जानकारी दिँदै उनले चुनाव स्थगित भएको २ नं. प्रदेशका कार्यकर्तालाई समेत १, ५ र ७ को आन्दोलनमा परिचालन गर्ने बताए । '२ नं. प्रदेशबाहेक अन्यत्र आगामी दिनका कार्यक्रम झनै सशक्त र प्रभावकारी हुनेछन्', उनले भने '२ नं. प्रदेशमा झैँ अन्यत्र पनि असोज वा उपयुक्त मितिमा चुनाव सार्न आफूहरूले गरेको माग सम्बोधन नभएकाले आन्दोलनको विकल्प रहेन ।'
राजपाका महासचिव केशव झाले आफूहरूको माग प्रदेश नं. २ र ५को चुनाव स्थगन भएको र त्यो पूरा नभएकाले ५ नं. प्रदेशमा चुनाव स्थगित गराउन अपनाउने रणनीतिका सम्बन्धमा अध्यक्षमण्डलले 'विशेष निर्णय' गर्ने बताए ।
सत्तारुढ दल र सत्तासमर्थक राजपाका शीर्ष नेताबीच बिहीबार बसेको बैठकले प्रदेश २ को निर्वाचन तीन महिनापछि असोज २ गते गर्ने निर्णय गरेको थियो । बैठकले प्रदेश १, ५ र ७ को निर्वाचन आसार १४ गते नै गर्ने तर निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय दुई दिनपछि असार ४ गते आइतबार गर्ने सहमति गरेको थियो ।