
एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आएको विरोधमा कार्यक्रम गर्दा नेकपा मालेका ४ नेता पक्राउ परेका छन् ।
नेकपा मालेका केन्द्रीय कार्यालय सचिव महेन्द्र शाहले पार्टी स्थायी कमिटी सदस्यद्वय डम्बर श्रेष्ठ, कृष्ण राना, पोलिटब्युरो सदस्य दुर्गाप्रसाद जैसी र काठमाडौं जिल्ला कमिटी सचिव सिद्धी महर्जनलाई नेपाल प्रहरी गौशाला प्रभागले नियन्त्रणमा लिएको जानकारी दिए ।
माले र अनेरास्ववियू पाँचौंको संयुक्त आयोजनामा आयोजित कालो बेलुन र कालो ब्यानर प्रदर्शन गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
‘मालेले चरणबद्ध रूपमा राष्ट्रघाती एमसीसी–सम्झौता खारेजीको शान्तिपूर्ण आन्दोलनमा छ । यसै सन्दर्भमा ४ दिने नेपाल भ्रमणमा आएको फातिमा नेतृत्वको टोलीको शान्तिपूर्ण विरोध प्रदर्शनको क्रममा भएको प्रहरी गिरफ्तारीप्रति पार्टी खेद प्रकट गर्दछ,’ कार्यालय सचिव शाहद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ, ‘गिरफ्तारीमा पर्नु भएका पार्टी नेता कामरेडहरूको तत्काल विना शर्त रिहाइको निम्ति माग गर्दछौं साथै संविधानप्रदत्त मौलिक अधिकारमाथि हस्तक्षेप नगर्न समेत आग्रह गर्दछौं ।’