
नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका प्रदेश १ का १० जना एमाले सांसदको सनाखतलाई निर्वाचन आयोगले आज मान्यता दिएको छ ।
निर्वाचन आयोगले प्रदेश निर्वाचन आयोगमा सूचना पठाउने तयारी गरिरहेको निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
आयोगमा पुगेर प्रदेश १ का प्रदेश सभा सदस्यहरू राजन राई, खिनु लङ्वा लिम्बू, पदमकुमारी गुरुङ, गणेशबहादुर कामवाङ, सुनिताकुमारी चौधरी, सावित्राकुमारी रेग्मी, सरिता थापा, कृष्णकुमारी राई, उपेन्द्रप्रसाद घिमिरे र राजेन्द्रकुमार राईले नेकपा (एस) मा हस्ताक्षर गरेका थिए ।
अब उनीहरू नेकपा (एस) का सांसदका रुपमा कायम भएका छन् ।
यी सांसदले वैधानिकता पाएसँगै प्रदेश १ को सरकार परिवर्तनका लागि बाटो खुला भएको छ । चाँडै गठबन्धनको बैठक बसेर निर्णय गर्ने नेकपा (एस) का केन्द्रीय सदस्य समेत रहेका सांसद राजेन्द्रकुमार राईले जानकारी दिए ।
गठबन्धनले मुख्यमन्त्री भीम आचार्यलाई राजीनामा दिनसमेत सुझाव दिएका छन् ।
मुख्यमन्त्रीले राजीनामा नदिए बहुमत सांसदको हस्ताक्षर लिएर प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा गठबन्धन रहेको बुझिएको छ ।