
अफगानिस्तानमा कब्जा जमाएको तालिबानले सेप्टेम्बर ११ तारिखलाई लक्षित गरेर शनिवार शपथ कार्यक्रम तय गरेको थियो । तर अन्तिममा कार्यक्रम रद्द गरिएको छ ।
सेप्टेम्बर ११ अमेरिकामाथि आतंकी हमला भएको दिन पनि हो । अमेरिकामाथि हमला भएको दिनका अवसरमा शपथ कार्यक्रम हुन लागेको भन्दै आलोचना भएपछि तालिबानले कार्यक्रम रद्द गरेको छ ।
अफगान सरकारको सांस्कृतिक आयोगका सदस्य इनामुल्ला समांगानीले ट्वीट गर्दै सरकारको शपथ समारोह केही दिनका लागि रद्द गरिएको जानकारी दिए । तर अफगान सरकारले काम गर्न शुरू गरिसकेको छ ।
शपथ कार्यक्रममा रुस, इरान, चीन, कतार र पाकिस्तानलाई निम्ता गरिएको थियो । तर रुसले सेप्टेम्बर ११ मा हुने शपथ कार्यक्रममा सहभागी नहुने स्पष्ट पारेपछि कार्यक्रम रद्द गरिएको जनाइएको छ ।
अन्य देशले समेत सेप्टेम्बर ११ का दिन शपथ कार्यक्रम नराख्न दबाब दिएका थिए । अमेरिकाले सेप्टेम्बर ११ लाई आतंककारी हमला भएको दिनका रूपमा स्मरण गर्दै आएको छ ।
अफगानिस्तानमा तालिबानले गत मंगलवार अन्तरिम सरकार घोषणा गरेको थियो ।