१२ असार २०८३, शुक्रबार

सभामुखले एमालेसँग संवाद गर्नै चाहेनन् : योगेश भट्टराई

सभामुखले एमालेसँग संवाद गर्नै चाहेनन् : योगेश भट्टराई

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले संसदको गतिरोध अन्त्य गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले एमालेसँग संवाद नै गर्न नचाहेको बताएका छन् । 

एमाले स्थायी कमिटी बैठकको निर्णय जानकारी दिने क्रममा पत्रकारले सोधेको प्रश्नमा भट्टराईले सभामुखले सत्तापक्षको सहयोगीको रूपमा काम गरेको टिप्पणी गरे । 

‘संसद् अवरोध गर्ने कुनै उद्देश्य छैन, हाम्रो त्यो नियत पनि होइन । तर सभामुखले जे भूमिका खेल्नुभयो, पार्टी विभाजनको लागि प्रकारान्तरले निरन्तर सहयोगी भूमिका खेल्नुभयो त्यसप्रति हाम्रो आपत्ति हो,’ भट्टराईले भने । 

‘एमाले प्रतिपक्ष दल र संसदको सबैभन्दा ठूलो दल पनि हो । संसदीय अभ्यासमा पोख्त पार्टी पनि हो एमाले, त्यस्तो पार्टीसँग उहाँ संवादमै हुनुहुन्न । संवादमा आउनै चाहनुभएन । सभामुखले त संवाद गर्नुपर्‍यो नि । हाम्रो दलको नेतासँग कुरा गर्नुपर्‍यो । दलका पदाधिकारीसँग छलफल गर्नुपर्‍यो । के हो तपाईंहरूको भनाइ ? मैले के गर्नुपर्‍यो भनेर सोध्नु पर्‍यो नि ।’

सभामुख सापकोटाले संसदको नेताको रूपमा काम गर्न नसकेको भट्टराईको आरोप छ । ‘संसदमा सत्ता पक्ष, विपक्ष र सभामुख गरी तीन पक्ष हुन्छन् । सभामुख जहिले पनि बीचमा हुन्छ । सभामुखको आसन सत्ता पक्ष र  विपक्षको बीचमा किन राखिएको ? कतै छेउमा राखिएको भए पनि त हुन्थ्यो नि । सभामुख सत्ता पक्षको पनि हुँदैन, विपक्षको पनि हुँदैन ऊ संसदको नेता हो । उहाँले संसदको नेताभन्दा सत्ता पक्षको सदस्यको रुपमा ज्यादा भूमिका खेल्नुभयो,’ भट्टराईले भने ।

नेकपा एमाले विभाजनमा सभामुखले पदीय आचरणभन्दा बाहिरको व्यवहार गरेकाले संसद सञ्चालनमा समस्या आएको उनको भनाइ छ । 

‘नेकपा एमालेको विभाजनमा सभामुखले पदीय आचरण अनुरुपको व्यवहार नगरी विभाजनमा सहयोग गर्नुभयो भन्ने हाम्रो टिप्पणी छ । त्यसमा उहाँले किन त्यस्तो भयो भनेर चित्तबुझ्दो जवाफ दिनुभएको छैन,’ भट्टराईले भने, कार्यव्यवस्था परामर्श समितिको बैठक नै नराखेर सभामुखले संसदको कार्यसूची एकलौटी रूपमा बनाएको टिप्पणी गरे । 

‘कार्यव्यवस्था परामर्श समितिको बैठक नै राखेको छैन । सीधै लगेर एजेण्डा हालेको छ । कार्यव्यवस्था मार्फत एजेण्डा जान्छ हैन र ? सभामुखको व्यवहार निष्पक्ष भएन । सभामुखले एमालेसँग संवाद गर्नुपर्छ, एमालेको टिप्पणी उहाँले सुन्नैपर्छ । त्यसमा उचित हल दिने जिम्मा सभामुखको हो,’ भट्टराईले भने ।

salt training

कमेन्ट गर्नुहोस्