
भारत गुजरातका मुख्यमन्त्री विजय रुपाणीले निर्वाचनभन्दा एक वर्षअघि नै अचानक राजीनामा दिएका छन् ।
उनले सञ्चारकर्मीसँग पार्टीमा समयसँगै दायित्वमा पनि परिवर्तन भइरहने बताए । ‘भारतीय जनता पार्टी (भाजपा)मा यो स्वाभाविक प्रक्रिया हो । मलाई पाँच वर्ष वर्षका लागि मुख्यमन्त्रीको जिम्मेवारी दिइएको थियो, जुन मैले पूरा गरेको छु,’ उनले भने ।
भनिन्छ राजीनामाको पछाडि आगामी वर्ष हुने विधानसभा चुनाव हो । मुख्यमन्त्री परिवर्तनसँगै जनताको असन्तुष्टि कम हुने र केही आशा पनि जाग्ने भएकाले एक वर्ष अघि नै राजीनामा दिइएको हो । यसले आगामी निर्वाचनमा जितका लागि मद्दत पुग्ने विश्वास गरिएको छ ।
भाजपाले गान्धीनगरमा भोलि (आइतवार) विधायक दलको बैठक बोलाएको छ, यसबाट नयाँ मुख्यमन्त्री चुनिन सक्ने बताइएको छ ।

नयाँ मुख्यमन्त्रीको दौडमा केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मंडाविया, केन्द्रीय मत्स्य तथा पशुपालन मन्त्री पुरुषोत्तम रुपाला, गुजरातका उपमुख्यमन्त्री नितिन पटेल र गुजरात भाजपा अध्यक्ष सीआर पाटीलको नाम चर्चामा छ । यीमध्ये मंडाविया सबभन्दा अगाडि भएको बताइन्छ ।
के भने रुपाणीले ?
मुख्यमन्त्रीबाट राजीनामा दिएपछि रुपाणीले पार्टीले जुन जिम्मेवारी दिन्छ सो निर्वाह गर्ने बताएका छन् । ‘मलाई जुन जिम्मेवारी दिइएको थियो, मैले पूरा गरेको छु । हामी प्रदेश चुनावमा नरेन्द्र मोदीको अगुवाईमा लड्नेछौं र २०२२ को चुनावमा पनि उहाँकै अगुवाइमा चुनाव लडिनेछ ।’
रुपाणीले २०१७ डिसेम्बर २६ मा दोस्रोपटक गुजरातको मुख्यमन्त्रीको शपथ लिएका थिए । भाजपाले गुजरातमा १८२ सिटमा ९९ सिट जितेर बहुमत हासिल गरेको थियो ।
विधान मण्डल दलको बैठकमा रुपाणी विधायक दलको नेता र नितिन पटेललाई उपनेता चुनिएको थियो ।