
पेरुका कम्युनिस्ट नेता अबिमाएल गुजमन 'गोन्जालो'को ८६ वर्षको उमेरमा निधन भएको छ ।
जेल जीवन बिताइरहँदा शनिवार सैनिक अस्पतालमा उनको निधन भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
१९९२ मा समातिएका उनले राज्यबाट आतंककारीको रुपमा सिंगो जीवन जेलमै बिताएका थिए ।
संसारभर चर्चा पाएको पेरुको कम्युनिस्ट आन्दोलन 'साइनिङ पाथ' को नेतृत्व गरेका गोन्जालो सशस्त्र विद्रोह गरे वापत समातिएका थिए ।
केही केही दिनदेखि उनको स्वास्थ्य निकै बिग्रिएपछि अस्पताल लगिएको थियो ।
स्थानीय समय अनुसार शनिबार बिहान ६ बजेर ४० मिनेटमा उनको निधन भएको हो ।
दर्शनका प्राध्यापक समेत रहेका गोन्जालो १९६० को दशको अन्त्यतिर चीन समेत पुगेका थिए । र त्यहाँ उनी माओ त्सेतुङको सांस्कृतिक क्रान्तिबाट प्रभावित भएको समेत बताइन्छ ।
यसैबीच पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले उनको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
डा. भट्टराईले नेपालको माओवादी आन्दोलनको थालनी र विकासमा उनको विचारले ठुलो प्रेरणादायी भूमिका खेलेको स्मरण गरेका छन् ।
पेरूका क्रान्तिकारी नेता अविमायल गुज्मन ‘गोन्जालो’को निधनको खबरले अत्यन्त दुखित छु। नेपालको माओवादी आन्दोलनको थालनी र विकासमा वहाॅको विचारले ठुलो प्रेरणादायी भूमिका खेलेको थियो।वहाॅको गिरफ्तारीपछि पेरूको आन्दोलनले धक्का खाएको अनुभवबाट पनि हामीले सिकेका थियौं!हार्दिक श्रद्धान्जली! pic.twitter.com/uuKlsA5I10
— Baburam Bhattarai (@brb1954) September 11, 2021