बदलिँदो शक्ति सन्तुलन– तनावपूर्ण सम्बन्धका बीच चिनियाँ राष्ट्रपतिलाई बाइडनले किन गरे फोन ?

विन्देश दहाल
विन्देश दहाल

लोकान्तर डट् कमका कूटनीतिक मामिला सम्पादक विन्देश दहाल अन्तर्राष्ट्रिय राजनीति तथा पूर्वीय अध्यात्मबारे लेख्छन् । 

अमेरिकाका राष्ट्रपति जो बाइडनले चीनका राष्ट्रपति सी चिनपिङसँग बिहीवार राति टेलिफोनमा कुराकानी गर्नुलाई चीनको कूटनीतिक विजयका रूपमा व्याख्या हुन थालेको छ ।


Advertisement

यी दुई नेताबीच सात महिनामा पहिलोपटक फोनवार्ता भएको हो । बाइडन राष्ट्रपति निर्वाचित भएदेखि सीसँग फेब्रुअरी महिनामा एकपटक मात्र कुराकानी भएको थियो भने बाइडनले यसबीचमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग आमनेसामने भेटवार्ता गरिसकेका छन् । चीन र रुसबीच बनिरहेको घनीभूत साझेदारी तोड्न उक्त भेटवार्ताले प्रयास गरेको भनेर समेत केही अतिउत्साही विश्लेषकले टिप्पणी गरेका थिए ।


Advertisement

वास्तवमा बाइडनले पूर्ववर्ती प्रशासनको नीतिलाई निरन्तरता दिनु नै त्रुटिपूर्ण कदम हो । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले चीनसँगको सम्बन्ध बिगार्ने गरी व्यापारयुद्ध चर्काएका थिए । त्यस्तै उनले कोरोनाभाइरस उत्पत्तिका विषयमा चीनको कटु आलोचना गर्ने गरेका थिए । 

बाइडन राष्ट्रपति भएपछि ट्रम्पको त्यही आक्रामक शैलीलाई निरन्तरता दिए । अझ बाइडनका अधिकारीले त चिनियाँ अधिकारीहरूसँग बाझाबाझ नै गरे । अमेरिकाको अलास्का र चीनको थ्यानचिनमा भएका वार्तामा दुई पक्षबीच ठाडोठाडो कुरा भएको थियो । वास्तवमा भन्ने हो भने बाइडनका अधिकारीहरूलाई चिनियाँ अधिकारीहरूले ती भेटहरूमा काँचै खाइदिएका थिए ।


Advertisement

अधिकारीहरूबीचको वार्ताले सार्थक परिणाम नदिएकाले शीर्ष तहकै नेताबीच कुराकानी हुनुपर्ने निष्कर्षमा अमेरिका पुगेको देखिन्छ । त्यसैले बाइडनले आफैं पहल गरी सीसँग कुराकानी गरेका हुन् । 

दुई देशले प्रतिस्पर्धा गरे पनि द्वन्द्वमा नजाने स्थिति सुनिश्चित गर्नका लागि बाइडनले अमेरिका र चीनबीचको सम्बन्ध स्थिर बनाउने अनि सुरक्षा संयन्त्र (गार्डरेल्स) निर्माण गर्ने हेतुका साथ फोनवार्ता गरेको ह्वाइट हाउसले सार्वजनिक गरेको फोनवार्ताको पाठमा उल्लेख छ ।

विश्लेषक टम फाउडीका अनुसार, चीनले निकै चतुरतापूर्वक तल्लो तहको कूटनीतिलाई कठिन बनाउँदै अमेरिकाको आक्रामकतालाई उस्तै भाषामा जवाफ फर्काएकाले बाइडन सीसँग सीधै कुरा गर्न बाध्य भएका हुन् । यसले चीनलाई कूटनीतिक पूँजी र वैधता दुवै दिएको छ र सी आफूबराबरको हैसियतका नेता हुन् भनी स्वीकार गर्न बाइडनलाई बाध्य बनाएको छ । वाशिङटनको प्रशासनतन्त्रलाई छलेर सीसँग सीधै कुरा गर्न बाइडन धेरै इच्छुक थिएनन् तर अस्थिरता बढ्ने डरले उनी यसका लागि बाध्य भए । 

यस प्रकरणले चीनको आत्मविश्वास बढेको अनि अमेरिकाको चाहिँ घटेको देखिएको छ । 

त्यसको उदाहरण त माथि संकेत गरिएबमोजिम बाइडनका सहयोगीहरूलाई शीर्ष चिनियाँ अधिकारीहरूले बेवास्ता गर्ने र पाठ पढाउने काम गरेबाटै दिन सकिन्छ । 

अमेरिकी रवैयाप्रति असन्तुष्टिको सन्देश दिने क्रममा वरिष्ठ चिनियाँ अधिकारीहरूले आफ्नो देश आइपुगेका केरीसँग भिडियो कलमा मात्र कुराकानी गरे । केरीसँग भेटका लागि उनीहरूले कनिष्ठ अधिकारीलाई पठाए । 

त्यसअघि जुलाई महिनाको अन्त्यतिर अमेरिकाकी परराष्ट्र राज्यमन्त्री वेन्डी शरम्यानले चीनको थ्यानचिनमा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँगको भेटमा चिनियाँहरूको आक्रोशको सामना गरिन् । चिनियाँ पक्षले उक्त भेटमा चीनको राजनीतिक प्रणालीलाई कमजोर बनाउन खोज्ने, चीनको आर्थिक वृद्धिलाई रोक्न खोज्ने र चीनको सार्वभौमसत्तामा दखल दिन खोज्ने बाइडन प्रशासनको प्रयासलाई कडा शब्दमा भर्त्सना गरेका थिए । त्यस भ्रमणमा पनि अमेरिका चीन सम्बन्ध द्वन्द्वमा नजाओस् भनी सुरक्षा संयन्त्र निर्माणमा जोड दिइएको थियो । 

बाइडनका अधिकारीहरूले चीनसँगको सम्बन्ध अमेरिकाअनुकूल हुनुपर्ने सोच राखेको भए पनि चिनियाँहरूले त्यस्तो सुविधा उपलब्ध नगराउने संकेत स्पष्ट रूपमा दिएका छन् । चीनसँग परेमा प्रतिस्पर्धात्मक, सम्भव भएमा सहकार्यात्मक तथा आवश्यकता देखिएमा शत्रुवत सम्बन्ध राख्ने बाइडन प्रशासनको सोच देखिएको थियो । 

तर चिनियाँ अधिकारीहरूले अमेरिकी समकक्षीहरूलाई सौहार्द्रपूर्ण तथा सिर्जनात्मक सम्बन्ध राख्न चाहेमा बेइजिङको आलोचना गर्न छोड्नुपर्ने बताएका छन् । जलवायु परिवर्तनमा चीनसँग सहकार्य गर्न खोज्ने अनि ताइवान, सिन्ज्याङ र हङकङका विषयमा चीनको आलोचना गर्ने अमेरिकाको दोहोरो मापदण्ड चीनलाई सह्य नहुने कुरा चिनियाँहरूले स्पष्ट रूपमा राखेका छन् । 

त्यसैले केरीले चीनको भ्रमण गर्दा वरिष्ठ चिनियाँ अधिकारीहरूले मतभेदका अन्य विषयलाई थाती राख्दै जलवायुका विषयमा सहकार्य गर्ने बाइडनको प्रस्तावलाई ठाडै अस्वीकार गरेका थिए । 

अनि गत मार्च महिनामा अमेरिकाको अलास्कामा भएको शिखर सम्मेलनमा चीनका शीर्ष अधिकारीहरू याङ जिची र वाङ यीले अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानलाई प्रोटोकलको समेत वास्ता नगरी ठाडै हप्काएका थिए । यसबाट पनि चीन अब अमेरिकाको आलोचनालाई सहेर हस्, हजुर भन्दै बस्ने पक्षमा नरहेको स्पष्ट भएको छ । 

अमेरिकाले चीनलाई लगभग समकक्षी प्रतिस्पर्धी (नीयर पीयर कम्पिटिटर) मान्ने भए पनि यी प्रकरणहरू र अहिले बाइडन आफैं सीसँग कुराकानी गर्न बाध्य भएको स्थितिले गर्दा समकक्षी नै मान्नुपर्ने देखिएको छ । 

चीनसँग जोरी खोजेर पार पाइँदैन भन्ने कुरा बाइडनले बुझेको संकेत पनि यसबाट पाइन्छ । लोकतान्त्रिक मुलुकहरूको बृहत् साझेदारी बनाएर चीनको सामना गर्ने बाइडनको योजना भए पनि यसलाई सार्थक रूपमा अघि बढाउन बाइडन सफल भएका छैनन् ।

विश्व अर्थतन्त्रमा चीनको गहिरो प्रवेश तथा अमेरिकाको विपरीत अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बेइजिङको चरित्रका कारण चीनसँग अनावश्यक दुश्मनी मोल्न कुनै पनि देश तयार देखिँदैन । त्यसैले बाइडन प्रशासन आफैं चीनसम्बन्धी रणनीतिको समीक्षा गर्न बाध्य भएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले लेखेका छन् । 

त्यसै पनि चीनका सम्बन्धमा बाइडन प्रशासनका अधिकारीहरूबीच मतभेद रहेको अमेरिकी विश्लेषक ब्रान्डन जे वेचार्ट लेख्छन् । प्रशासनमा विशेषगरी तीनवटा खेमा रहेको उनको भनाइ छ ।

पहिलो खेमामा कठोर दृष्टिकोण अपनाउने कर्ट क्याम्पबेल जस्ता अधिकारी छन् । ह्वाइट हाउसका एसिया संयोजक क्याम्पबेल चीनविरुद्ध कडा सोच राख्नु अमेरिकाको हितमा रहेको बताउँछन् । 

अनि नरम दृष्टिकोण राख्नेहरूको अर्को खेमा छ । सुसन राइस र जोन केरी त्यस खेमाका शीर्ष अधिकारी हुन् । ओबामा प्रशासनमा पनि काम गरेका उनीहरू चीनलाई शान्तिका लागि साझेदार बनाउनुपर्ने धारणा राख्छन् । जलवायु परिवर्तन जस्तो कठिन विश्वव्यापी चुनौतीको सामना गर्न अमेरिकालाई चीनको सहयोग अपरिहार्य रहेको उनीहरूको मान्यता छ । 

जलवायु परिवर्तनका विषयमा ठोस काम गर्नुपर्ने दबाब बाइडनलाई छ किनकि उनले राष्ट्रपति निर्वाचन जित्नका लागि यसलाई प्रमुख विषय बनाएका थिए । बाइडनलाई बहुमत दिलाउनका लागि जलवायु परिवर्तनका विषयमा चिन्ता व्यक्त गर्ने युवाहरूको मत पनि महत्त्वपूर्ण थियो ।

तेस्रो खेमामा चाहिँ राजनीतिक अवसरवादीहरू छन् । उनीहरूको आफ्नै कुनै नीति छैन, बाइडनको छवि जे कुराले सकारात्मक देखिन्छ त्यसैमा जोड दिन उनीहरू पैरवी गर्छन् । तत्कालका लागि चीनविरुद्ध कठोर नीति अपनाउँदा बाइडनलाई सञ्चारमाध्यमले हाईहाई गर्ने देखिएकाले उनीहरू कठोर दृष्टिकोण भएकाहरूसँग सहकार्य गरिरहेका छन् । 

बाइडनलाई चीनविरुद्ध कठोर बनेको जस्तो देखाउन राजनीतिक कारण पनि जिम्मेवार छ । चीनप्रति नरम देखिनेबित्तिकै उनलाई विपक्षी रिपब्लिकनहरूले कठोर आलोचना गर्न थालिहाल्छन् अनि अर्को वर्ष हुने मध्यावधि निर्वाचनमा पनि उनको डेमोक्रेटिक पार्टीलाई घाटा लाग्न सक्छ । यसै पनि अफगानिस्तानबाट बहिर्गमनका क्रममा गरेको अव्यवस्थाका कारण बाइडनलाई रिपब्लिकनहरूले आच्छुआच्छु पारिरहेको बेलामा झन् चीनप्रति नरम रहेको देखाउँदा त अप्ठ्यारै स्थिति आउन सक्छ । 

त्यसैले कम्तीमा मध्यावधि निर्वाचनसम्म बाइडनले चीनप्रति कठोर दृष्टिकोण राखेको देखाउनसक्ने अनि त्यसपछि चाहिँ क्रमशः नरम बन्दै गएको देखाउने सम्भावना रहेको वेचार्टले पनि संकेत गरेका छन् । 

बाइडनले वृद्धावस्थाका कारण शायद अर्को कार्यकालका लागि चुनाव लड्न नचाहलान् । त्यसैले मध्यावधि निर्वाचनपछि चीनप्रति नरम दृष्टिकोण राख्दा पनि उनलाई राजनीतिक घाटा नलाग्ला । 

तर यस अवधिमा चीनसँग सम्बन्ध बिग्रेर द्वन्द्व नहोस् भन्नेमा पनि उनी सचेत छन् । त्यसैले चीनका राष्ट्रपति सीसँग फोनवार्ता गरेर बाइडनले दुई देशको सम्बन्ध प्रतिस्पर्धात्मक रहे पनि द्वन्द्वतर्फ नधकेलियोस् भन्ने सुनिश्चित गराउन खोजेका हुन् । चीनका लागि भने यो कूटनीतिक विजय हो किनकि द्विपक्षीय सम्बन्धमा अमेरिकाको शर्त पालन गर्नुपर्ने बाध्यताबाट ऊ मुक्त भएको छ ।

चीनसँग द्वन्द्व हैन, समन्वय गर्न अमेरिका बाध्य हुनु चीनको स्पष्ट जीत भएको भन्ने किसिमका विश्लेषण कतिपयले गरिरहेका छन् ।

विन्देश दहाल
विन्देश दहाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्