०९ असार २०८३, मंगलबार

एमालेको नाराबाजी नरोकिएपछि प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित

एमालेको नाराबाजी नरोकिएपछि प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायम राखेपछि प्रतिनिधि सभाको बैठक एक साताको लागि स्थगित भएको छ । 

मंगलवार बजेट प्रतिस्थापनको लागि ल्याइएको विनियोजन विधेयक २०७८ स्वीकृत भएसँगै सभामुख अग्नि सापकोटाले असोज ४ गतेसम्मको लागि बैठक स्थगित गरेका हुन् । 

मंगलवार बसेको बैठकमा पनि विगतमा जस्तै एमाले सांसदहरूले नाराबाजी गरेका थिए । एमालेको नाराबाजीका बाबजुद सभामुख सापकोटाले अर्थमन्त्रीलाई विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिए । 

हो–हल्लाकै बीच सभामुखले प्रस्तावमाथि छलफल चलाए । छलफलमा नेमकिपाका सांसद प्रेम सुवाल सहभागी भए । उनले एमसीसीको विरोध गरे । 

त्यसपछि राष्ट्रिय सभाका पूर्व सदस्य रुक्मशमशेर राणा र संविधानसभाका सभाका पूर्व सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित भयो । शोक प्रस्तावको क्रममा नाराबाजी रोकेका एमाले सांसदले फेरि नाराबाजी लगाए । 

त्यसपछि सभामुख सापकोटाले प्रतिनिधि सभाको बैठक असोज ४ गतेसम्म स्थगित गरेका छन् । बीचमा शनिवार र संविधान दिवस परेकोले असोज ४ गतेसम्म बैठक स्थगित गरिएको संसद सचिवालय स्रोतले बतायो । 

‘यसबीचमा प्रमुख प्रतिपक्षी दलसँग संसद खुलाउने विषयमा सार्थक वार्ताका लागि बैठक लामो समयको लागि स्थगित गरिएको हो,’ सचिवालय स्रोतले भन्यो ।

माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय कार्यान्वयन नगरेर पार्टी विभाजनमा सभामुखले भूमिका खेलेको आरोप लगाउँदै एमालेले संसद अवरोध गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्