
फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'आई' को खेलमा नर्वेले सेनेगलविरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ। न्युयोर्क न्यु जर्सी स्टेडियममा मंगलबार बिहान भइरहेको खेलमा डिफेन्डर कालिडु कुलिबालीको एउटा गल्ती सेनेगलका लागि महँगो सावित भएको छ।
खेलको सुरुवातमै नर्वेले आफ्ना मुख्य खेलाडी जुलियन रायरसनलाई चोटका कारण गुमाउनु परेको थियो। उनको स्थानमा मैदान प्रवेश गरेका वैकल्पिक खेलाडी मार्कस पेडेरसन नै नर्वेका लागि 'सरप्राइज प्याकेज' बने।
खेलको ४३औं मिनेटमा सेनेगलका अनुभवी डिफेन्डर कुलिबालीले आफ्नै डिफेन्स क्षेत्रमा बल नियन्त्रण गर्न नसकी सिधै पेडेरसनलाई पास दिएका थिए। पेडेरसनले प्राप्त बललाई पेनाल्टी बक्सभित्र अगाडि बढाउँदै प्रहार गरेको सट सेनेगलका गोलकिपर एडुआर्ड मेन्डीको हातमा लाग्दै गोलमा परिणत भएको थियो। पेडेरसनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।
पहिलो हाफमा नर्वेले गोलका अन्य थुप्रै अवसरहरू सिर्जना गरेको थियो। कप्तान मार्टिन ओडेगार्डले पाएका दुईवटा उत्कृष्ट अवसरलाई गोलकिपर मेन्डीले विफल तुल्याएका थिए। त्यस्तै, इन्जुरी समयमा एर्लिङ हालान्डले अग्रता दोब्बर बनाउने सुवर्ण मौका पाएका थिए। मेन्डीको अर्को एउटा गल्तीमा हालान्डले खाली पोस्टको दिशामा गरेको प्रहार दुर्भाग्यवश पोलमा लागेर फर्किएको थियो।
अर्कोतर्फ, सेनेगलका साडियो माने र निकोलस ज्याक्सन जस्ता स्टार खेलाडीहरू मैदानमा भए पनि उनीहरूले नर्वेको रक्षापंक्तिलाई खासै दबाबमा राख्न सकेनन्। लामिन कामाराले ३० यार्ड टाढाबाट गरेको प्रहार गोलपोस्टको नजिकबाट बाहिरिएको थियो भने ज्याक्सनको प्रयास पनि विफल भएको थियो।
यदि यो नतिजा खेलको अन्त्यसम्म कायम रहेमा नर्वे ६ अंकसहित फ्रान्ससँगै प्रतियोगिताको अन्तिम ३२ (नकआउट चरण) मा प्रवेश गर्नेछ।