
करोडौँ पाउन्ड कर छलीको आरोप लागेपछि स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो अहिले तनावमा छन् । आफूमाथि लागेको कर छलीको आरोप अस्वीकार गरेका रोनाल्डोले रियल छाड्ने मनस्थिति बनाएका छन् ।
पोर्चुगलको चर्चित पत्रिका ‘अ बोला’ लाई दिएको अन्तर्वार्तामा रोनाल्डोले करको झमेलाका कारण स्पेन छाड्न चाहेको बताएका हुन् । म्याड्रिडको अपराध अभियोजन संस्थाले १४ करोड ७० लाख पाउन्ड कर नतिरेको आरोपसहित गत मंगलबार रोनाल्डोविरुद्ध मुद्दा दर्ता गराएको थियो । कर अधिकारीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै रोनाल्डोले आफ्नो क्लब रियलसँग समेत असन्तुष्टि पोखिसकेका छन् । 
चारपटकका फिफा वर्ष खेलाडी रोनाल्डोले आफू निर्दाेष रहेको प्रतिक्रिया दिएका छन् । सिजन ब्रेकपछि स्वेदश फर्किएका रोनाल्डो हाल अन्तर्राष्ट्रिय खेलका लागि प्रशिक्षणमा छन् । प्रशिक्षणका दौरान पोर्चुगलमा पत्रकारसँग रोनाल्डोले आफू ‘सफा नियत’ भएको मानिस भनेर समेत प्रतिक्रिया दिएका छन् ।
३२ वर्षीय रोनाल्डोले रियलसँग सन् २०२१ सम्मको सम्झौता गरेका छन् । कर झमेलाबाट मुक्त हुन उनी फेरि म्यानचेस्टरमा फर्कन चाहेको पनि दाबी गरिएको छ । आगामी सोमबारबाट मिड सिजन विन्डो सुरु हुन लाग्दा रोनाल्डोको पनि नाम चर्चामा आएको छ । कर छलीको आरोपपछि रियल छाड्न चाहेका रोनाल्डोले चीन जाने भने कुनै इच्छा देखाएका छैनन् ।

रोनाल्डो सन् २००९ मा म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका थिए । २००३ देखि २००९ मा म्यानचेस्टरमा रहँदा रोनाल्डोले १ सय ९६ खेलमा ८४ गोल गरेका थिए । रियलका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका रोनाल्डोले आठ सिजनमा २ सय ६५ खेलमा २ सय ८५ गोल गरिसकेका छन् । युरोपियन च्याम्पियन्स लिगमा सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका रोनाल्डोले पोर्चुगललाई युरो २०१६ को उपाधि जिताएका थिए ।

रोनाल्डोमाथि लागेको मुद्दामा म्याड्रिडका न्यायाधीशले दुई साताभित्र निर्णय दिनेछन् । दोषी पाइएमा रोनाल्डोलाई अपिल गर्न एक महिनाको समय दिइनेछ । म्याड्रिडको अपराध अभियोजन संस्थाले रोनाल्डोले सन् २०११ देखि ०१४ सम्म १४ करोड ७० लाख पाउन्ड कर नतिरेको आरोप लगाएको छ । रियलबाट प्रतिसाता ३ लाख ६५ हजार पाउन्ड पारिश्रमिक लिने रोनाल्डोले आफ्नो वास्तविक आम्दानी लुकाएको संस्थाले दाबी गरेको छ । पारिश्रमिकबाहेक रोनाल्डोले विज्ञापनबाट कमाएको रकमको पनि कर नतिरेको बताइएको छ ।
![]()
सन् २०१४ मा रोनाल्डोले ८ करोड ५० लाख ८४ सय १९ पाउन्ड कर विभाग नबुझाइएको दाबी छ । रोनाल्डोले नाइक, कोकाकोला, इमिरेट्स, क्यास्ट्रोल, हेर्बालाइफलगायतका विज्ञापनबाट लिएको रकमको स्पेनबाहिर कर तिरेको दाबी गरेका छन् । तर स्पेनिस कर अभियोजन कार्यालयले ब्रिटिस भर्जिन आइल्यान्डमा कम्पनी खोलेर कर छलेको आरोप लगाएको छ ।