
संखुवासभाको मादी नगरपालिका– १ उम्लिङमा तेजकुमार कार्कीसहित उनको परिवारका ६ सदस्यको हत्या भएको घटनामा नयाँ ट्विस्ट देखा परेको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा थप ४ जनालाई पक्राउ गरेपछि घटनाक्रमले नयाँ मोड लिएको हो । यसअघि पक्राउ परेका २५ वर्षीय लोकबहादुर कार्कीसँगको बयान तथा अनुसन्धानमा भेटिएका नयाँ प्रमाणका आधारमा थप ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको हो ।
रणबहादुर यसअघि पक्राउ परेका लोकबहादुरका बुवा र नरेश भाइ हुन् । खड्गबहादुर लोकबहादुरका काका पर्छन् र हस्तबहादुर उनका छोरा हुन् ।
यसअघि चिर्पटको प्रयोग गरी लोकबहादुरले मात्र हत्या गरेको बताइएकोमा प्रहरीले छुरा लगायतका हतियार पनि प्रयोग भएको र ५ जना मिलेर हत्या गरेको पाइएको जनाएको छ ।
के देखियो अनुसन्धानमा ?
प्रहरीका अनुसार घटनाको अघिल्लो दिन राति ८ बजेसम्म अभियुक्तहरू लोकबहादुरको घरमा बसी योजना बनाएको खुलेको छ ।
घटनाको दिन तेजकुमारले लोकबहादुरसहितका अभियुक्तहरूलाई खेताला बोलाएको र त्यसैको मौका छोपी हत्या गर्ने योजना बनाएको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अभियुक्तहरूले तेजकुमारको हत्या गर्दा ज–जसले थाहा पाउँछ, ती सबैको हत्या गर्ने र अनुकूल मिलेमा तेजकुमारको घरमा भएको धनमाल समेत लैजाने योजना बनाएका थिए ।
तेजकुमार लोकबहादुरको घरसम्म आउने निश्चित गर्न खड्गबहादुर कार्की घटनाको दिन बिहान ५ बजे नै तेजकुमार कार्कीको घर गई ‘लोकबहादुर अल्छी छ, घरमै गएर खेताला निश्चित गर्नू’ भनेका थिए ।
तेजकुमारले मादी नगरपालिका– ३ पिप्लेस्थित खेतमा खड्गबहादुर कार्की, हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश नरेश कार्की चार जनालाई नै खेताला बोलाएका थिए ।
तेजकुमार लोकबहादुरको घरतिर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुर घरपछाडि चिर्पट तयारी अवस्थामा राखेको बसेका थिए ।
खेताला निश्चित गर्न बिहानै लोकबहादुरको घर पुगेका तेजकुमारले ‘अल्छी, अझैसम्म उठेको छैनस्’ भन्दै कराएपछि लोकबहादुर उठेका थिए ।
उनका भाइ नरेश र बुवा रणबहादुर घरमै थिए । घरबाट तेजकुमार फर्कने क्रममा योजनाअनुसार लोकबहादुरले भाइ नरेशलाई इशारा गरी आफूले दाउराको चिर्पट र अलैँची काट्ने चक्कु बोकी पछिपछि जान्छन् ।
घर पछाडिको गोगनेको रूखनजिक पुगेपछि लोकबहादुरले तेजकुमारलाई चिर्पट प्रहार गरी लडाएको पाइएको छ । त्यसपछि हस्तबहादुरले चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाएर बाटोमा झारी घोप्टो पारेर छाडेको प्रहरीले जनाएको छ ।
प्रहरीले विज्ञप्तिमा उल्लेख गरे अनुसार–
लोकबहादुरले चिपर्टले हान्दा तेजकुमारले ‘लोकेले मार्यो, मलाई नमार’ भन्दै हारगुहार गरेको श्रीमती कमलाले सुनिछन् ।
त्यो सुनेर उनी ‘मेरो बुढोलाई नमार’ भन्दै आएको र बुहारी रञ्जना पनि सँगसँगै आएको पाइएको छ । पूर्व योजनाअनुसार घटना लुकाउन हस्तबहादुरले कमलाको घाँटीका छुरा प्रहार गर्छन् ।
बुहारी रञ्जनालाई नरेशले ठेलेर खोल्सामा झार्छन् र खड्गबहादुर, लोकबहादुर र हस्तबहादुर मिली हत्या गर्छन् । मृतक रञ्जनाको लास रणबहादुर र नरेश समेतले कमलाको लास भएको ठाउँसम्म पुर्याउँछन् ।
मृतक नाबालकहरू दिपेन र गोमा घर नजिकको बाटोमा आएको देखेर हस्तबहादुर र लोकबहादुरले बाटो छेकी मुख थुनी चिर्पट समेत प्रहार गरेको हत्या गरेको खुलेको छ ।
५ जनाको हत्या गरेपछि उनीहरू मृतक तेजकुमारको घरतर्फ गएको पाइएको छ ।
प्रहरीका अनुसार घरमा मृतक ८४ वर्षीया पार्वती कार्की मकै नंग्याइरहेको अवस्थामा हस्तबहादुरले समाती घर पछाडिको गोठनजिक लगी लोकबहादुरले टाउको भित्तामा ठोक्काइ घाँटी बटारेर हत्या गरेका थिए ।
घटनामा प्रयोग गरेको चिर्पट र छुरी लोकबहादुरको घरमा लगी रगत पखालेर छुरी बुइँकलमा लुकाएको तथा चिर्पटहरू जलाएको पाइएको छ ।
त्यसपछि खड्गबहादुर र निजको छोरा हस्तबहादुर घर जान्छन् । रञ्जनाको ओप्पो मोबाइल नरेशले लिएर आई स्वीच अफ गरी घरमुनिको ओडारमा लगेर लुकाएको अवस्थामा प्रहरीले फेला पारिसकेको छ ।
अभियुक्तहरू घटनापछि लोकबहादुरको घरमा भेला भएर कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भन्ने योजना बनाएका थिए ।
यदि प्रहरी आई पत्ता लगाएमा लोकबहादुरले मानसिक औषधी पनि खाने गरेका कारण निजले जिम्मा लिने भन्ने सल्लाह पनि भएको पाइएको छ ।
उनीहरूले २१ गते बिहान साढे ५ बजेदेखि पौने ६ बजेसम्म हत्या गरेको अनुसन्धानमा खुलेको छ ।
५५ वर्षीय तेजकुमार, उनकी आमा ८४ वर्षीया पार्वता भन्ने पार्वती कार्की, ५४ वर्षीया पत्नी कमला भन्ने मनमाया कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय विपिन भन्ने दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।
ओडारमा लुकाएको मोबाइलले खोल्यो पोल
लोकबहादुरलाई पक्राउ गरेर घटनास्थलबाट हिँडेपछि मृतक रञ्जनाको मोबाइलले प्रहरीलाई थप तथ्यतर्फ डोहोर्याएको थियो ।
रञ्जनाको मोबाइलले नै नयाँ रहस्योद्घाटन गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वज सुवेदीले बताए ।
उनका अनुसार प्रहरी घटनास्थलबाट हिँडेपछि लोकबहादुरका भाइ नरेशले मोबाइलमा आफ्नो सिम हालेर चलाएका थिए । यता प्रहरीले भने उक्त मोबाइललाई निरन्तर ट्रयाक गरिरहेको थियो ।
‘नरेशले आफ्नो सिम उक्त मोबाइलमा हालेपछि तथ्य खुलेको हो,’ डीएसपी सुवेदीले लोकान्तरसँग भने, ‘हामीले मोबाइललाई निरन्तर ट्र्याक गरिरहेका थियौं ।’
उनले मोबाइल घटना भएको दिन घरमुनिको ओडारमा लगेर लुकाएको र प्रहरीहरू घटनास्थलबाट हिँडिसकेपछि ल्याएर प्रयोग गरेको पाइएको छ ।
प्रहरीका अनुसार यस्तो छ घटनाको कारण
अभियुक्तहरूमध्ये खड्गबहादुरले नियमित रूपमा रक्सी खाने र घरमा श्रीमती तथा परिवारका सदस्यहरूलाई कुटपिट एवं गाली गलौज गर्ने गरेका थिए ।
त्यस्तो देख्दा तेजकुमारले ‘तँ जँड्याहा किन यसो गर्छस्” भनी गाली गर्ने गरेका थिए । खड्गबहादुरले पनि “तँलाई के मतलब, तँलाई म मार्छु” भन्दै झगडा गर्ने गरेको पाइएको छ ।
यस्तै तेजकुमारले लोकबहादुरलाई 'तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्' भन्ने गरेको र नरेशलाई 'तँ डुँडे, काम नलाग्ने भइस्' भन्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
रणबहादुरले पनि आफूलाई लठेब्रो भन्दै हेप्ने गरेको र आफू सम्पन्न भएको भन्दै तेजबहादुरले फुर्ती दिने गरेका कारण मनमा इख पालेको पाइएको प्रहरीले जनाएको छ ।