
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को वैधता तथा १४ सांसदमाथिको कारवाहीका सम्बन्धमा नेकपा एमालेले दायर गरेको रिट हेर्दाहेर्दैैमा राखेर सोमवारको सुनुवाइ सकिएको छ ।
न्यायाधीश दीपक कार्की र डा. कुमार चुडालको इजलासमा सोमवार भएको सुनुवाइ हेर्दाहेर्दैमा टुंगिएको हो ।
पार्टीले कारवाही गरेका माधव नेपाललगायत १४ सांसदको हस्ताक्षरलाई सनाखत गराएर पार्टी दर्ता गरिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली सर्वोच्चमा रिट दायर गरेका थिए ।
साथै रिटमा पार्टीले १४ सांसदमाथि गरेको कारवाहीलाई सदर नगरेकोमा सभामुख अग्नि सापकोटालाई पनि विपक्षी बनाइएको छ ।
सोमवारको बहसमा नेकपा एमालेका तर्फबाट ओली प्रधानमन्त्री छँदा कानूनी सल्लाहकार रहेका अधिवक्ता बाबुराम दाहाल, तत्कालीन महान्यायाधीवक्ता रमेश बडाल लगायतले बहस गरेका थिए ।
माधव नेपाल लगायत १४ जनालाई सांसदलाई पदमुक्त गर्न ओलीले गरेको आग्रह सभामुख सापकोटाले अस्वीकार गरेका थिए ।
निर्वाचन आयोगले भदौ ९ गते माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई पार्टीको मान्यता दिएको थियो ।