०८ साउन २०८३, शुक्रबार

चाडपर्वलाई लक्षित गरेर ट्राफिक व्यवस्थापन योजना सार्वजनिक

असोज ४, २०७८
चाडपर्वलाई लक्षित गरेर ट्राफिक व्यवस्थापन योजना सार्वजनिक
फाइल फोटो

ट्राफिक प्रहरीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर ट्राफिक व्यवस्थापन योजना सार्वजनिक गरेको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नजिकिँदै गरेको बडादशैं, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरेर चाडपर्व व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना सोमवारदेखि लागू गरेको जानकारी दिए ।

‘चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्नसक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागू गरेका हौं,’ उनले भने ।

योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ति परिचालन, जाँचमा कडाइ र नागरिक सहायता कक्ष स्थापना गरी सेवा प्रवाह गर्ने योजना रहेको उनको भनाइ थियो । 

उनले बसपार्क, टिकट काउण्टर र अन्य ठाउँमा हुने भीडभाडका कारण कोरोना संक्रमण बढ्ने भन्दै त्यस्ता ठाउँमा ट्राफिक प्रहरी खटाएर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए । ट्राफिक प्रहरीले चाडपर्वको समयमा हुने सवारी चाप व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि जाँचलाई कडाइ पार्ने भएको छ । चाडपर्वमा रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्या बढ्ने र दुर्घटना हुन सक्ने कुरालाई मध्यनजर गर्दै रात्रीकालीन मात्र नभई दिनको समयमा जाँचलाई कडाइ गरिने एसएसपी भट्टराईले बताए ।

थानकोट, नागढुंगा, जगाती, फर्पिङ, साँखु, बालाजुबाइपास, मुड्खु, टोखा लगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारी साधनलाई नाकामा कडाइका साथ जाँच गर्ने महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको विशेष सुरक्षा योजनामा लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा २ वटा चालक भए/नभएको एप्सबाट जाँच गर्ने बताएको छ । 

ट्राफिक प्रहरीले उपत्यकाका बढी भीडभाड हुने क्षेत्रलाई पहिचान गरी ट्राफिक जनशक्ति थप गर्ने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्