काठमाडौं, ३ असार— नवलपरासीको परासीमा राजपाका कार्यकर्ता र प्रहरीबीचको झडपका क्रममा गोली चलेको छ । शनिबार अपरान्ह राजपाको कार्यक्रम स्थल नजिकै उसका कार्यकर्ताहरुले स्टोर गरेको राखिएको एमालेको सूर्य चिन्ह अंकित टिसर्ट जलाइदिएपछि भएको झडपका क्रममा प्रहरीले गोली चलाएको हो । सो क्रममा राजपाका ४ कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ ।

राजपाका एक नेताले दिएको जानकारी अनुसार अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले भाषण गर्दागर्दै झडप उग्र बन्दै गोली चल्ने सम्मको अवस्था निम्तिएको थियो भने गोली चलेसँगै कार्यक्रम नै विथोलिन पुगेको थियो । प्रहरीले राजपाका कार्यकर्तालाई नियन्त्रणमा लिन तितरबितर पार्ने क्रममा सुरुमा एक दर्जन आश्रुग्यास प्रहार गरेको र त्यसले पनि स्थिति नियन्त्रणमा आउन नसकेपछि रबरको गोली चलाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
राजपाका कार्यकर्ताका अनुसार प्रहरीले आधा दर्जन रबरका गोली हानेको थियो । घटनापछि परासी क्षेत्र तनाव ग्रस्त रहेपछि अहिले अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
एमालेको टिसर्टले निम्त्याएको घटनानिर्वाचन आयोगले कुनै पनि उम्मेदवारले टिसर्ट झोलालगायतका सामग्री वितरण गर्न नपाउने नियम बनाएको छ । तर निर्वाचन आचारसंहिता विपरित सुनवल लैजानको लागि एमालेले तीन बोरामा एमाले सूर्य अंकित टिसर्ट मध्य नेपाल यातायात व्यवयायी संघको कार्यालयको सटरमा भण्डारण गरेर राखेको थियो । सो थाहा पाएका राजपाका कार्यकर्ताले सुरुमा एक बोरा टिसर्ट सडकमा ल्याएर जलाउन थालेका थिए । फेरि राजपाका कार्यकर्ताले अर्को बोरा पनि निकालेर जलाउने प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
त्यतिबेलासम्म राजपाका नेताहरु राजेन्द्र महतो, हृदयश त्रिपाठी, अनिल झा, राजकिशोर यादव, निजेन्द्र सोनल लगायतका नेताहरुले सम्बोधन गरिसकेका थिए भने महत्थ ठाकुर सम्बोधन गर्दै थिए । सोहि क्रममा प्रहरी हस्तक्षेप गरेसँगै प्रहरीले लाठीचार्ज र आश्रुग्यास प्रहार गरेको थियो भने राजपाका कार्यकर्ताले कुर्सी र टुंगा प्रहार गर्न थालेको थिए । स्थिति तनावग्रस्त बनेसँगै प्रहरीले रबरको गोली चलाउन पुगेको हो ।
स्थानीय एक पत्रकारका अनुसार कार्यक्रमस्थल नजिकै सो झडप भएको हो भने सोलगत्तै कार्यक्रम विथोलिन पुगेको थियो र राजपाका नेताहरुलाई सहयोगीले सुरक्षित स्थलतर्फ लगेका थिए ।
झडपमा घाइते भएकाहरुलाई जिल्लास्थित पृथ्वी चन्द्र अस्पतालमा भर्ना गरिएको छ भने घाइतेहरुको परिचय खुल्न बाँकी रहेको छ ।
राजपाले असार १४ गते हुने चुनावको विरोधमा परासीमा आज विरोध सभाको आयोजना गरेको थियो ।