२२ जेठ २०८३, शुक्रबार

प्रयागका महन्त नरेन्द्र गिरीको मृत्यु रहस्यमय, अनुसन्धान गर्दै प्रहरी

असोज ५, २०७८
प्रयागका महन्त नरेन्द्र गिरीको मृत्यु रहस्यमय, अनुसन्धान गर्दै प्रहरी

प्रयागराजमा रहेको बाघम्बरी गद्दी मठका महन्त नरेन्द्र गिरीको शंकास्पद अवस्थामा भएको मृत्युलाई प्रहरीले तत्कालका लागि आत्महत्या मानेर अनुसन्धान गरिरहेको छ । 

गिरीको शव फाँसीमा झुण्डिएको अवस्थामा फेला परेको थियो र सात पृष्ठ लामो सुसाइड नोट पनि त्यतै थियो । 

घटनास्थलमा उपलब्ध सुसाइड नोटमा उल्लेख भएअनुसार तीनवटा कुरामा विवाद देखिन्छ : बाघम्बरी गद्दीको उत्तराधिकार, मठको सम्पत्ति र शिष्यसम्बन्धी विवाद । 

यी तीन विषयमा नरेन्द्र गिरी र शिष्य आनन्द गिरीबीच विवाद थियो । यसअघि पनि सम्पत्तिको विषयमा नरेन्द्र गिरीका शिष्य आशिष गिरीले आरोप लगाएर पछि आत्महत्या गरेका थिए । 

प्रयागराजमा बस्ने नरेन्द्र गिरी पहिलोपटक सन् २०१५ मा विवादमा आएका थिए । त्यतिखेर उनले सचिन दत्ता नामक घरजग्गा व्यवसायीलाई महामण्डलेश्वरको उपाधि दिएका थिए । 

पछि त्यसमा विवाद उठ्यो र महामण्डलेश्वर उपाधि फिर्ता लिइयो । उनलाई निरंजनी अखाडाको सदस्यताबाट पनि बर्खास्त गरियो । 

बाघम्बरी मठको जग्गा प्रयागराजमा मात्र नभई नोयडामा पनि छ । त्यसको मूल्य अर्बौं रुपैयाँ रहेको बताइन्छ । त्यसबाहेक मठ र संगममा रहेको हनुमान मन्दिरबाट पनि करोडौं रुपैयाँको आम्दानी हुने गरेको छ । नरेन्द्र गिरीले कैयौं बिघा जमीन बेचेको र आएको पैसा आफ्ना नातेदारलाई दिएको आरोप आनन्द गिरीले लगाएका थिए । 

नरेन्द्र गिरीका निकट शिष्य र निरञ्जनी अखाडाका सचिव आशिष गिरीले सन् २०१९ को नोभेम्बर १७ मा गोली हानेर आत्महत्या गरेका थिए । आशिषले जमीन बेच्ने कुराको विरोध गरिरहेका थिए । तर प्रहरीले अनुसन्धानपछि गम्भीर रोग लागेका कारण आशिषले आत्महत्या गरेको बताएको थियो । 

आनन्द गिरीलाई कुनै समयमा महन्त नरेन्द्र गिरीको उत्तराधिकारी मानिन्थ्यो । सन् २००५ मा आफूलाई उत्तराधिकारी बनाइएको र सन् २०१२ मा वसियत समेत दिइएको आनन्दको दाबी छ । 

वसियत भए नभएको पुष्टि हुन सकेको छैन । तर त्यही वसियत तथा उत्तराधिकारका कारण नरेन्द्र र आनन्दबीच विवाद शुरू भएको बताइन्छ । सम्पत्तिका विषयमा विवाद पनि यसैसँग जोडिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्