२४ असार २०८३, बुधबार

पर्ख र हेरको अवस्थामा लगानीकर्ता, नेप्से बढ्दा पनि बढेन कारोबार रकम

पर्ख र हेरको अवस्थामा लगानीकर्ता, नेप्से बढ्दा पनि बढेन कारोबार रकम

निरन्तर गिरावट आइरहेको शेयर बजारमा मंगलवार सामान्य वृद्धि भएको छ । 

यद्यपी लगानीकर्ताहरू बजारमा प्रवेश गर्ने वा नगर्ने भन्नेबारे चाहिँ लगानीकर्ताहरूमा द्विविधा भएको देखिन्छ ।

मंगलवार शेयर बजार मापक नेप्से परिसूचक १३.८३ अंकले बढ्दै २ हजार ७ सय १२.०७ विन्दुमा उक्लिएको छ । 

मंगलवार कारोबारको शुरूदेखि नै लगातार गिरावट आइरहेको शेयर बजार दिउँसो करिब साढे १ बजेदेखि उकालो लाग्न शुरू गरेको थियो । 

यस दिन सेन्सेटिभ परिसूचक २.३६ अंकले बढ्दै ५०८.६२ विन्दुमा पुगेको छ ।

यस दिन कुल २ सय २३ कम्पनीको १ करोड ५३ लाख ६ हजार कित्ता शेयर ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार रूपैयाँमा कारोबार भएको छ ।

यसअघि सोमवार नेप्से परिसूचक ११४.०२ अंकले घटेको थियो भने कारोबार रकम ८ अर्ब ४९ करोड ३४ लाख १ हजार रुपैयाँ पुगेको थियो । 

सोमवारको तुलनामा मंगलवार शेयर बजारमा नेप्से परिसूचक बढेको छ तर कारोबार रकम भने घटेको देखिन्छ । 

यसरी हेर्दा लगानीकर्तामा अझै पर्ख र हेरको अवस्था कायम नै रहेको विभिन्न लगानीकर्र्ता समूहका नेतृत्वहरूले बताएका छन् ।

यस दिन व्यापार, फाइनान्स, निर्माण तथा उत्पादन र मुचुअल फण्ड समूह तर्फको सूचक  बाहेक अन्य समूहको सूचक बढेको छ । 

जसमध्ये सबैभन्दा धेरै होटल तर्फ पर्यटन समूहको सूचक २.३८ प्रतिशतले बढेको छ । 

के भन्छन् लगानीकर्ता ? 
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत व्यवस्था गरेको शेयर कर्जामा कडाई गरेसँगै लगानीकर्ताहरू बिच्किएका थिए ।

राष्ट्र बैंकको नीतिविरुद्ध कतिपय लगानीकर्ताहरू अहिले पनि आन्दोलनमै रहेका छन् । 

यस्तै पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्माको शेयर बजारसम्बन्धी अभिव्यक्तिका कारण पनि बजारलाई प्रभाव परेको लगानीकर्ताहरूको बुझाइ छ । 

यस्तो अवस्थामा केही समय लगानीकर्ताहरूले धैर्य गरेर बसेकै राम्रो हुने इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । 

विभिन्न कम्पनीहरूले डिभिडेन्ड, बोनस घोषणा गर्न थालेका छन् ।  

अध्यक्ष ढकाल भन्छन्,‘अहिले लगानी गरेको प्रतिफल आउने बेला भएको छ । यस्तो अवस्थालाई लगानीकर्ताले बुझ्नुपर्छ ।  

अध्यक्ष ढकालले अहिले बजार घटिरहँदा सकेसम्म राम्रा कम्पनीहरूको शेयर किन्नुपर्नेमा जोड दिए । 

उनले भने,‘ पुँजीबजारमा लगानी गर्दा धैर्यता चाहिन्छ, अहिले पुँजीबजार घटिरहेको अवस्थामा सकिन्छ किन्नुस् नत्र भएको बचाएर राख्नुस् ।’  

salt training

कमेन्ट गर्नुहोस्