
साहस ऊर्जा लिमिटेडले भोलि बुधवारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्न लागेको हो ।
निष्काशन गरिने प्रारम्भिक शेयरमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले असोज ६ गतेदेखि आवेदन दिन पाउने भएका छन् ।
कम्पनीको विवरण पत्रअनुसार सर्वसाधारणले असोज १० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआएमा असोज २० सम्म निष्काशन खुला हुने विवरण पत्रमा उल्लेख छ ।
कम्पनीले हाल सोलुखुम्बु जिल्लाका सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ७९ लाख हुने विवरण सार्वजनिक गरेको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरमा आवेदन दिन सक्नेछन् । अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ ।
कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ५० करोडको प्रतिशेयर १०० अंकित दरले हुने ३ करोड ५० लाख कित्ता शेयरमध्ये ३० प्रतिशत अर्थात् १ करोड ५ लाख कित्ता सार्वजनिक निष्काशनका निमित्त छुट्याएको थियो । सोअनुसार प्रतिशेयर १०० अंकित मूल्यको ३५ लाख कित्ता साधारण शेयर गत साउन २९ देखि भदौ २७ सम्म आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुका बासिन्दाका लागि निष्काशन गरिएको थियो, जसको बाँडफाँट समेत भइसकेको छ ।