
केही गिरोहको मिलेमतोमा अमेरिका पठाउने बहानामा रोहिङ्गा शरणार्थीलाई नेपाल ल्याउने गरेको खुल्न आएको छ ।
अनुसन्धानका क्रममा हाल काठमाडौंको कपनमा रहेको रोहिङ्गा शरणार्थी क्याम्पमा बस्ने नूर अमिन र सोफिक आलमले बंगलादेशी नागरिक आजमत अलिसँग मिलोमतो गरी अन्य शरणार्थीलाई नेपाल भित्र्याइएको पाइएको छ ।
नेपालबाट अमेरिका जान परिचयपत्र पाइने, मासिक प्रतिव्यक्ति पुरुषलाई ५ हजार ७५०, महिलालाई ३ हजार ७५० र बालबालिकालाई २ हजार ७५० भत्ता सुविधा दिने तथा अन्य सुविधा पनि राम्रो रहेको भनी प्रलोभन दिएर नेपाल ल्याउने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उनीहरूले यसरी ६ जना शरणार्थीलाई नेपाल ल्याएको पनि प्रहरीले जानकारी दिएको छ ।
केही अघि ब्यूरोको टोलीले उनीहरूलाई पक्राउ गरी मानव वेचविखन अनुसन्धान व्यूरोमा बुझाएको थियो । ब्यूरोले जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी मानव वेचविखन तथा ओसारपसार नियन्त्रण ऐनअनुसार अनुसन्धान थालेको मंगलवार एक सूचनामार्फत जनाएको छ ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीअनुसार उनीहरुले कति जना मानिसलाई त्यसरी ल्याएका हुन् भन्ने बिषयमा अनुसन्धान भइरहेको जानकारी दिए । गिरोहले पीडितलाई शरणार्थीका लागि संयुक्त राष्ट्र संघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) नजिक छाडेका थिए । त्यसपछि कार्यालयको सम्पर्कमा गई पीडितले शरणर्थीको परिचयपत्र बनाएका थिए ।
अनुसन्धानमा उनीहरूलाई अवैध रूपमा नेपालमा भित्र्याएको पाइएको छ ।
उनीहरूले शरणार्थीलाई भारतको बाटो प्रयोग गरी नेपाल ल्याइ मानव तस्करी गर्ने गरेको दाबी प्रहरीको छ । गिरोहले ढाकादेखि काठमाडौंसम्मको यात्राका लागि २ लाख ५० हजार टाका (बंगलादेशी मुद्रा) लिई प्रलोभनमा पारी नेपालसम्म ल्याई पुर्याएको जनाइएको छ ।