
बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देशभरका जनताका लागि पायक पर्ने गरी संघीय राजधानी बनाउनुपर्ने बताएकी छन् ।
जिल्ला समन्वय समिति चितवनको पाँचौं जिल्ला सभालाई मंगलवार सम्बोधन गर्दै उनले मकवानपुर र चितवनलाई जोडेर संघीय राजधानी र प्रदेशको राजधानी काठमाडौं बनाउनुपर्ने बताइन् ।
संघीय राजधानी काठमाडौं अव्यवस्थित बनेको भन्दै उनले चितवन र मकवानपुर २ जिल्ला जोडेर व्यवस्थित राजधानी बनाउन सकिनेमा जोड दिइन् । काठमाडौं प्रदेशको राजधानी हुँदा यहाँका जिल्लालाई पायक पर्ने उनको भनाइ थियो ।
चितवनमा विकासको प्रचुर सम्भावना रहेको भन्दै उनले व्यवस्थित शहर बनाउन सुझाव दिइन् । मुख्यमन्त्री शाक्यले कोभिडको तेस्रो लहर आउन सक्ने भन्दै यसका विरुद्ध लड्नका लागि सरकारी संयन्त्र तयार रहेको बताइन् ।
सामाजिक विकासमन्त्री विजय सुवेदीले गुरुयोजना बनाएर जिल्लाको विकासमा जुट्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, प्रमुख जिल्ला अधिकारी आशमान तामाङ लगायतले बोलेका थिए ।
सो अवसरमा जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटीले आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विभिन्न आयोजनाको विवरण पेश गरे । ती आयोजनाका विषयमा मंगलवारै जिल्ला सभाको बन्दसत्रमा छलफल हुनेछ ।