
हिमाली जिल्ला मुस्ताङमा उत्पादित यसवर्षको स्याउ धमाधम बजार ढुवानी गरिँदै छ । यसअघि स्याउ जोन मुस्ताङले जिल्लामा उत्पादित स्याउ असोज १ गतेबाट मात्र टिप्न पाइने नियम बनाएपछि अहिले मुस्ताङमा धमाधम स्याउ टिप्ने चटारो चलेको हो ।
मुस्ताङका अधिकांश बगैचाका स्याउहरु कृषकहरुले ठेक्कामार्फत व्यापारीहरुलाई बिक्री गर्ने गरेको र व्यापारीहरुले संकलन गरेका स्याउ पोखरा-काठमाडौं लगायतका स्थानमा बिक्री गर्ने गरेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।
कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार असोज महिना लागेपछि मुस्ताङका बगैचामा यतिखेर धमाधम स्याउ टिप्ने र बजार ढुवानी गर्ने कार्य भइरहेको छ ।कार्यालय प्रमुख बस्ताकोटीले गतवर्षको तुलनामा मुस्ताङमा ५१ सय मेट्रिक टन स्याउ फलेकोमा यो वर्ष ५ प्रतिशत स्याउ वृद्धि हुन सक्ने अनुमान गरेका छन् ।
समुन्द्री सतहदेखि २५ सय मिटरदेखि ३८ सय मिटर अग्लो उचाइको चिसो हावापानीमा उत्पादन गरिएको मुस्ताङको स्याउको डिमाण्ड सहर/बजारमा बढ्दो रहेको व्यापारीहरुको भनाइ छ ।तर ,विगतका वर्षहरुमा मुस्ताङको स्याउ व्यापारीहरुले ठेक्कामार्फत स्याउको गुणस्तर वृद्धि नहुदै तीज पर्वको मेलो छोपेर बजार पुर्याउने परिपाटीले मुस्ताङको स्याउमा उपभोक्ताले प्रश्न उठाउने गरेका थिए ।
बोटमा स्याउ नपाक्दै टिप्न नपाइने जिल्ला तहबाट निर्णय भएपछि असोजबाट धमाधम स्याउ टिप्न थालिएको हो । आसन्न दशै पर्व अगावै मुस्ताङको ७५ प्रतिशत स्याउ व्यापारीहरुले बजार अनुमान गरिएको छ । मुस्ताङमा उत्पादित स्याउ मध्ये १५ प्रतिशत स्याउ जिल्ला भित्रै खपत हुने र १० प्रतिशत स्याउ स्याउ प्रशोधन गरी ब्रान्डी ,वाइन ,जुस र ड्राई स्याउको परिकार बनाइने गरिन्छ । केही स्थानीय तहमा यो वर्षदेखि कोल्ड स्टोर समेत निर्माण भइसकेकाले बेमौसममा समेत पर्यटकले मुस्ताङको ताजा स्याउ चाख्न पाउने छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।