
अबको १० दिनमा नेकपा एमालेको पहिलो विधान महाधिवेशन उद्घाटन हुँदैछ । असोजको १५ देखि १७ सम्मका लागि एमालेको विधान महाधिवेशन बोलाइएको छ ।
एमालेको नवौं महाधिवेशनले दुई महाधिवेशनको बीचमा एउटा विधान महाधिवेशन आयोजना गर्ने व्यवस्था गरेको थियो । त्यसैअनुरूप विधान महाधिवेशन बोलाइएको हो ।
तर, विधान महाधिवेशनमा सहभागी हुने एमालेको केन्द्रीय कमिटी सदस्य कति जना हुने भन्ने अझै निर्क्योल हुन सकेको छैन ।
विधान महाधिवेशनमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र विधान महाधिवेशन प्रतिनिधि गरी ३ हजार जना प्रतिनिधि सहभागी हुने व्यवस्था गरिएको छ ।
एमालेको नवौं महाधिवेशनले २०५ जनाको केन्द्रीय कमिटी गठन गरेको थियो । तर, २०७५ जेठ ३ मा नेकपा एमाले र माओवादी केन्द्र एकीकरण गरेर नेकपा गठन गर्ने बेलामा भने एमालेको केन्द्रीय कमिटी सदस्य थपेर २४१ पुर्याइएको थियो ।
२०७७ फागुन २३ को अदालतको आदेशसँगै नेकपा विभाजन भएर साविकको एमाले र माओवादी केन्द्र बनेपछि एमालेको केन्द्रीय कमिटी सदस्य संख्या २६१ रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।
यसमा माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरू समेतको संख्या छ ।
एमालेको आन्तरिक विवाद समाधान गर्नको लागि असार २७ गते भएको १० बुँदे सहमतिको ५ नम्बर बुँदामा केन्द्रीय कमिटीमा १० प्रतिशत नबढ्ने गरी केन्द्रीय सदस्य मनोनित गर्ने उल्लेख छ ।
एमालेले १० बुँदे सहमति कार्यान्वयन गर्नका लागि कार्यदल बनाएको छ ।
कार्यादलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल तथा स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन् । उनीहरूलाई एमालेको केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य थप्ने बारेमा गृहकार्य गर्ने जिम्मेवारी पनि तोकिएको छ ।
१० बुँदे सहमतिको पाँचौ नम्बर बुँदामा भनिएको छ, ‘पार्टीमा महत्त्वपूर्ण योगदान गर्नुभएका कमरेडहरूलाई मौजुदा केन्द्रीय कमिटीको कूल सदस्य संख्याको १० प्रतिशतमा नबढ्ने गरी उक्त कमिटीमा मनोनित गरिनेछ ।’
सहमतिमा एमालेको पार्टी संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काउने र मौजुदा केन्द्रीय कमिटीको कुल सदस्य संख्याको १० प्रतिशत नबढ्ने गरी केन्द्रीय सदस्य मनोनित गर्ने उल्लेख छ ।
तर, अहिलेसम्म १० प्रतिशत नबढ्ने गरी केन्द्रीय सदस्य थप्ने विषय कार्यदलको प्राथमिकतामा परेको छैन ।
एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउँदा एमालेको केन्द्रीय कमिटी सदस्य संख्या २०५ जना हुन्छ । केन्द्रीय कमिटीका २०५ जना केन्द्रीय सदस्यलाई आधार मानेर मनोनित गर्दा २० जना सदस्य केन्द्रीय कमिटीमा थपिन सक्छन् । २० जना थप हुँदा केन्द्रीय कमिटीको आकार २२५ सदस्यीय हुन्छ ।
अर्कोतर्फ, एमालेबाट माधव नेपाल पक्ष छुट्टिएर नेकपा एकीकृत समाजवादी गठन गरिसकेका छन् । एमालेको केन्द्रीय कमिटीबाट ५८ जना सदस्य एकीकृत समाजवादीमा गएका छन् । ती पद अहिले पनि खाली नै छन् ।
अहिले एमालेले भनेअनुसार, केन्द्रीय सदस्यको संख्या २६१ लाई मान्दा त्यसमा ५८ पद खाली छ । उक्त ५८ केन्द्रीय सदस्य थप नगरी विधान महाधिवेशनमा जाँदा एमालेका २०३ जना केन्द्रीय सदस्य मात्रै सहभागी हुन पाउँछन् ।
रिक्त रहेका र १० बुँदे अनुसार थप्ने भनिएका १० प्रतिशत सदस्य थप्दा यो संख्या २८१ पुग्छ ।
केन्द्रीय सदस्य थप्ने तयारी छैन
‘१० बुँदे सहमतिअनुसार केन्द्रीय सदस्य थप्ने बारेमा अनौपचारिक छलफल पनि भएको छैन । विधान महाधिवेशन अघि केन्द्रीय सदस्य थप भइसक्दा राम्रो हुने हो तर, अहिलेसम्म यो विषय प्राथमिकतामा परेकै छैन’, कार्यदलका सदस्य रहेका एक नेताले बताए ।
एमाले विभाजन हुँदा माधव नेपाललाई साथ नदिएर एमालेमै बसेका १० जना स्थायी कमिटी सदस्यहरू भने १० बुँदे सहमतिमा उल्लेख भएअनुसार नै केन्द्रीय सदस्य थप्नुपर्ने पक्षमा छन् ।
त्यसबाहेक एमाले छाडेर एकीकृत समाजवादीमा गएपछि खाली भएको सिटमा पनि केन्द्रीय सदस्य थपेर विधान महाधिवेशनमा जानुपर्ने पक्षमा उनीहरू छन् ।
एमालेका अध्यक्ष केपी ओली निकट एक स्थायी समिति सदस्य भने महाधिवेशनको मिति घोषणा भइसकेकाले केन्द्रीय कमिटीमा सदस्य नथपिने बताउँछन् ।
‘मंसिरमा महाधिवेशन गर्ने भनिएको छ । अहिले केन्द्रीय सदस्यको संख्या थपे पनि दुई महिनाका लागि मात्रै हुन्छ । दुई महिनाका लागि केन्द्रीय सदस्य थपिरहनु आवश्यक छैन भन्ने निष्कर्षमा छौं’, ओलीनिकट ती नेताले भने ।
केन्द्रीय कमिटीमा सदस्य थप्ने पक्षमा नभएपछि १० बुँदे सहमति अनुसारको १० प्रतिशत केन्द्रीय सदस्य पनि नथपिने उनले बताए ।
‘केन्द्रीय सदस्य बन्न चाहनेको संख्या ठूलो छ । मापदण्ड बनाएर मात्रै थप गर्न सकिने अवस्था रहन्छ । अहिले पार्टी पूरै विधान महाधिवेशनमा केन्द्रित छ । केन्द्रीय सदस्य थप्नेतिर अलमलिने अवस्था छैन’, ती नेताले भने ।
विधान महाधिवेशन लगत्तै पार्टीको दशौं महाधिवेशनको तयारीमा जुट्नुपर्ने भएकाले पनि पार्टीको केन्द्रीय सदस्यको संख्या बढाउनतिर ध्यान जाने स्थिति नभएको नेताहरूको भनाइ छ ।
अर्कोतर्फ, एमालेले प्रस्ताव गरेको नयाँ संगठन संरचना अनुसार १० औं महाधिवेशनपछि एमालेको केन्द्रीय सदस्य संख्या २२५ हुने प्रस्ताव छ ।
विधान महाधिवेशनले यसलाई स्वीकृत गरेमा दशौं महाधिवेशनबाट एमालेको केन्द्रीय कमिटी २२५ सदस्यीय हुन्छ ।