३२ असार २०८३, बिहीबार

गण्डकीका मुख्यमन्त्रीको निम्तोमा प्रदेश २ का मुख्यमन्त्री पोखरा भ्रमणमा

गण्डकीका मुख्यमन्त्रीको निम्तोमा प्रदेश २ का मुख्यमन्त्री पोखरा भ्रमणमा

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितको टोली बुधवार पोखरा भ्रमणमा गएको छ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निमन्त्रणमा राउत पोखरा भ्रमणमा गएका हुन् । 

उनीहरूबीच बुधवार पोखरेलको कार्यकक्षमा औपचारिक भेटवार्ता पनि भएको छ । 

भेटवार्ताका क्रममा गण्डकीका मुख्यमन्त्री पोखरेलले संविधानत मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गएपछि स्थापना भएको प्रदेश सरकारले जनताको चाहना बमोजिमको सेवा तथा विकास प्रवाह गर्ने सवालमा धेरै चुनौतीको सामना गर्नुपरेको बताए । 

उनले संघीय सरकारले कर्मचारी समायोजनमा पर्याप्त भूमिका नखेलेको, शान्ति सुरक्षा लगायतका मुख्य काममा प्रदेशलाई अधिकार नदिएको जसले गर्दा प्रदेश सरकार चाहेर पनि काम गर्न सक्ने अवस्थामा नरहेको बताए । 

‘ठूला विकासका कार्य अघि बढाउन जग्गा प्राप्तिको समस्या, विकास निर्माणमा बाधक विभिन्न कानूनी व्यवस्था आदिको सुधार तथा संशोधनमा पनि केन्द्र सरकारले ध्यान दिएको छैन,’ उनले भने । 

ठूला विकास साझेदारको स्रोत परिचालन केन्द्रबाट हुने गरेको भन्दै उनले यसमा प्रदेशको संलग्नता वृद्धि हुनु पर्ने मुख्यमन्त्री पोखरेलले बताए । अन्तर प्रदेश समन्वय परिषदको बैठक नियमित बस्ने र समस्याको समाधान निकाल्नेतर्फ पनि घच्घच्याउनु आवश्यक रहेको उनको भनाइ थियो । 

साझा सरोकारका विषयमा समय समयमा मुख्यमन्त्रीहरूबीच छलफल गरी अनुभव तथा सहयोगको आदान प्रदान तथा संघीयताको प्रवद्र्धनका लागि स्पष्ट धारणा बनाउनु आवश्यक रहेको मुख्यमन्त्री पोखरेलले बताए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयतालाई मजबुत बनाउन आफूहरूले निकै संघर्ष गर्नुपरेको बताए । साढे २ वर्ष अगाडि पोखरामा मुख्यमन्त्रीहरुको सम्मेलन भएको स्मरण गर्दै उनले त्यो सम्मेलनले उठाएका सबाललाई सम्बोधन गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तर्सेको बताए । 

अधिकारकै लडाइँका क्रममा आफूहरु संघ सरकारसँग मुद्दा लडिरहेको बताउँदै अधिकार नपाएसम्म संघर्ष जारी रहने उनको भनाइ थियो । 

मुख्यमन्त्री राउत नेतृत्व टोलीले ३ दिन यस क्षेत्रमा बिताउनेछ ।

बुद्ध एअरले पोखरा(सिमरा उडान शुरू गर्दाको दिनमा गण्डकीका पर्यटन मन्त्री नेतृत्वको टोली प्रदेश २ गएको थियो । 

त्यतिबेलै मुख्यमन्त्री राउतलाई निमन्त्रणा गरिएको थियो । 

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि गरिएको यो कार्यक्रमको संयोजन नाट्टा गण्डकी प्रदेशले गरेको छ । 

नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले ३ दिनको अवधिमा मुख्यमन्त्री राउतसहितको टोलीलाई पोखरा र आसपासका मुख्य पर्यटकीयस्थलको अवलोकन गराइने बताए । 

salt training

कमेन्ट गर्नुहोस्