
मौलिक जरोकिलो पार्टीले फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समाधानको उपायबारे काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यलाई सुझाव दिएको छ ।
बिहीवार मेयर शाक्यलाई ज्ञापनपत्र बुझाउँदै मौलिक जरोकिलो पार्टीका काठमाडौं महानगरपालिका समिति संयोजक मनोजराज आचार्यले फोहोरको पुनः प्रयोग हुने प्रविधिलाई प्रयोग गर्न सुझाव दिए ।
‘फोहोरमैलाबाट पुनः प्रयोग गरेर विभिन्न सामानहरूको उत्पादन, फोहोर जलाएर विद्युत् उत्पादन र कुहिने फोहोरबाट मिथेन ग्यास र प्राङ्गारिक मल बनाउन सकिने प्रविधिको विकास भइसकेको छ,’ ज्ञापनपत्रमा उल्लेख छ, ‘काठमाडौं महानगरका वासिन्दाको चासो स्मार्ट सिटी, मोनोरेल र केवलकारमा भन्दा आफूभन्दा अग्लो फोहोरको थुप्रोमा रहेको हुँदा यथाशीघ्र काठमाडौं महानगरपालिकाले फोहोरमैलाको दीर्घकालीन समाधानको लागि कार्य गरोस् भन्ने अनुरोध छ ।’
यस्तो छ ज्ञापन पत्रको पूर्णपाठ –
श्रीमान् मेयर ज्यु,
काठमाडौँ महानगरपालिका,
काठमाडौँ, नेपाल ।
विषय : फोहोर व्यवस्थापनको दीर्घकालिन समाधान बारे ।
आदरणीय मेयर ज्यु, वि. सं. २०७४ सालको स्थानिय निकायको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भए काठमाडौँ महानगरपालिकालाई स्मार्ट शहरको रुपमा विकास गर्ने योजना तथा कार्यक्रम देखाउनुभएको थियो । मतदाताले मोनोरेल, केवलकार, अत्याधुनिक बस सेवा सहितको स्मार्ट सिटीको आश्वासन देखेर आफ्नो अमूल्य मत र तपाईंलाई मेयरमा जिताएका हुन् । तर तपाईंको कार्यकाल सकिने बेलासम्म काठमाडौँ महानगरपालिकामा न मोनोरेल आयो, न केवलकार आयो न अत्याधुनिक बस सेवा संचालनमा आयो न त तपाईंले भन्ने गर्नुभएको 'स्मार्ट सिटी' बन्ने कुनै छेकछन्द देखिन्छ । अरु त अरु साधारण शहरले पुरा गर्नुपर्ने न्युनतम मापदण्ड समेत पुरा गर्न सकेको छैन ।
काठमाडौँका विभिन्न स्थानहरूमा फोहोरको थुप्रो औसत नेपालीको उचाई भन्दा माथि पुगिसक्यो । तीन हप्ता भन्दा बढी भइसक्यो सर्वसाधारण नाक थुनेर हिंड्न बाध्य भएका । स्वास्थ्यविद्हरू हैजा, झाडापखाला, भाइरल ज्वरो, डेंगुजस्ता रोगहरूको महामारी फैलिनसक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिसके । कहिले समाधान हुन्छ काठमाडौँको फोहोरको समस्या ?
काठमाडौँको फोहोर नुवाकोटको सिसडोलमा लगेर पुर्नु फोहोर मैलाको दीर्घकालिन समाधान होइन । एकातिर सिसडोलका स्थानिय बासिन्दा फोहोरको कारण पटक पटक बिरामी परिरहने समस्या देखिएको छ भने गाडिएको फोहोरबाट निस्किएको फोहोर तरल (लिचेट) को कारण कोल्पू खोलामा प्रदुषित बनेर जैविक विविधता मासिएको छ । त्यसमाथि वर्षायाममा बाटो बिग्रिएर फोहोर काठमाडौँमै थुप्रिने अवस्था आउने हुँदा फोहोर मैला व्यवस्थापनको दीर्घकालिन समाधानको दिशामा अघि बढ्न अनुरोध छ ।
फोहोर मैलाबाट पुन:प्रयोग गरेर विभिन्न सामानहरूको उत्पादन, फोहोर जलाएर विद्युत उत्पादन र कुहिने फोहोरबाट मिथेन ग्यास र प्राङ्गारिक मल बनाउन सकिने प्रविधिको विकास भइसकेको छ । काठमाडौँ महानगरका बासिन्दाको चासो स्मार्ट सिटी, मोनोरेल र केवलकारमा भन्दा आफु भन्दा अग्लो फोहोरको थुप्रोमा रहेको हुँदा यथाशीघ्र काठमाडौँ महानगरपालिकाले फोहोरमैलाको दीर्घकालिन समाधानको लागि कार्य गरोस् भन्ने अनुरोध छ ।
मनोजराज आचार्य
संयोजक
काठमाडौँ महानगरपालिका समिति
मौलिक जरोकिलो पार्टी