
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) छाडेर भए पनि सत्ता गठबन्धन जोगाउने बताएका छन् ।
काभ्रेको पाँचखालमा योङ कम्युनिष्ट लिग (वाइसीएल)को नगर सभालाई सम्बोधन गर्दै उनले एमसीसीलाई अगाडि सारेर गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको बताए ।
अहिलेका लागि एमसीसी भन्दा गठबन्धन मुख्य कुरा भएकोले जसरी पनि जोगाउने र निरन्तरता दिने उनले बताए ।
असोज ६ को साँझमा बालुवाटारमा बसेको गठबन्धन बैठकले जसरी पनि पाँच पार्टीको गठबन्धन जोगाउने निर्णय गरेको उनले बताए ।
‘गठबन्धन तोड्न अनेक षड्यन्त्र भइरहेका छन । हिजोको बैठकमा सबै षडयन्त्रको समीक्षा गरियो तर, गठबन्धन कमजोर हुन नदिने संकल्प गरेका छौं’, प्रचण्डले भने, ‘गठबन्धनलाई चुनावसँगै लैजाने संकल्प गरेका छौं ।’
एमसीसी अघि सार्दा शेरबहादुर देउवा र प्रचण्डको झगडा हुन्छ र त्यसले गठबन्धन फुट्छ भन्ने सोचमा षड्यन्त्र भइरहेको उनले बताए ।
‘एमसीसीलाई प्रयोग गरेर गठबन्धन टुटाउने सपना देखेका छन । एमसीसीमा प्रचण्ड र झगडा गर्छन र गठबन्धन टुट्छ भन्ने सोच छ’, प्रचण्डले भने, ‘एमसीसी हाम्रो लागी मुख्य होइन, गठबन्धन मुख्य हो । गठबन्धन जोगाउन आवश्यक छ ।’