
चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैंडा चोरीशिकार गरेको अभियोग लागेका १ जना पक्राउ परेका छन् ।
निकुञ्जको अनुरोधमा निजलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मुगुको साविक मुगु गाविस–९ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ५९ वर्षीय नाङ्गे तामाङ लामा रहेका छन् ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विक्रम संवत् २०७६ भदौ ३१ गते निकुञ्जको बाँदरझुला पोस्टको मर्दीघोलमा तस्करले गैंडा मारेका थिए । घटनाको अनुसन्धानका क्रममा १५ जना संलग्न रहेको खुलेको थियो । त्यसमध्ये ५ जना यसअघि नै पक्राउ परेका थिए ।
अधिकारीका अनुसार फरार १० मध्ये निज लामा पक्राउ परी पुर्पक्षका लागि भरतपुर कारागार चलान गरिएका हुन् ।
मोटरसाइकल चोरी गर्ने गिरोहले माग अनुसारका मोटरसाइकल चोरी गर्ने गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार मोटरसाइकल चोरी गर्ने गिरोहले ग्राहकको चाहनाअनुसारको मोटरसाइकल चोरी गर्ने गरेका हुन् ।
मोटरसाइकल चोरीमा संलग्न भएकालाई सार्वजनिक गर्ने क्रममा बिहीवार आयोजित कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले मोटरसाइकल चोरी गर्ने गिरोहले मागअनुसारको मात्रै मोटरसाइकल चोरी गर्ने गरेको पाइएको बताए ।
पक्राउ परेकाहरूको बयान उदृत गर्दै उनले भने, ‘ग्राहकको मागअनुसारका ब्राण्ड, रङ, मोडल खोजीखोजी चोरी गरेको पाइयो ।’
कार्यालयले विगत १ महिनादेखि शुरू गरेको अप्रेसन माइक चार्ली अभियानका क्रममा पक्राउ परेका १४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । यसक्रममा ८ मोटरसाइकल र ९१ हजार नगदसमेत बरामद गरिएको अधिकारीले जानकारी दिए ।