
काठमाडौं, ४ असार — भारतको दार्जीलिङमा नेपालीभाषीहरूले छुट्टै गोर्खाल्यान्ड राज्यका लागि गरेको आन्दोलन हिंस्रक बन्दै जाँदा शनिवार तीनजनाको मृत्यु भएको छ ।

सरकारी पक्षले एकजनाको मृत्यु र ३५ सुरक्षाकर्मी घाइते भएको बताइरहँदा विरोधको नेतृत्व गरिरहेको गोर्खा जनमुक्ति मोर्चा (गोजमो) ले प्रहरीको गोलीबारीमा आफ्ना तीन कार्यकर्ता मारिएको जनाएको छ ।
आफ्ना समर्थकको मृत्युको विरोधस्वरूप गोजमोले आइतवार कालोपट्टी लगाएर विशाल प्रदर्शन गर्न आह्वान गरेको छ । सरकारी अधिकारीले तीन मृत्युको पुष्टि गरेका छैनन् ।
गोजमो प्रमुख विमल गुरुङले दार्जीलिङको मुटुमा रहेको चौक बजारमा समर्थकहरूलाई आइतवार बिहान १० बजे भेला भई कालोपट्टी बाँधेर प्रदर्शन गर्न आह्वान गरेका छन् । अधिकारीहरूले चार वा चारभन्दा बढी मानिस भेला हुन रोक लगाएबाट ताजा भिडन्त अवश्यम्भावी छ ।
गोजमोले पश्चिम बंगाल सरकारसँग कुनै पनि वार्ता गर्न अस्वीकार गरेको छ तर केन्द्रमा रहेको भाजपा सरकारसँग भने वार्ता गर्न सकिने बताएको छ ।
विद्यालयहरूमा बंगाली भाषालाई अनिवार्य बनाइएको विरोधस्वरूप चर्किएको आन्दोलनमा छुट्टै गोर्खाल्यान्डको माग दोहोरिएको छ ।
एजेन्सी