
दशैंको पूर्वसन्ध्यामा चीनबाट पर्याप्त मात्रामा कपडा नआउँदा उपभोक्ताहरूले ‘पुरानै’ कपडामा चित्त बुझाउनुपर्ने भएको छ ।
चीनबाट सीमित मात्रै कपडा आयात भएकाले बजार माग धान्न व्यवसायीहरूलाई समेत धौधौ परेको छ ।
कोरोना महामारीका कारण चीनबाट धेरै मात्रामा कपडा आयात गर्न नसक्दा व्यवसायीहरूले अहिले पुरानै मौज्दात (स्टक)मा रहेको कपडा बिक्री गरिरहेका छन् ।
भृकुटीमण्डपका एक कपडा व्यवसायीले भने, ‘भन्न त अहिले नयाँ नै कपडा भनेका छौँ, तर धेरै जसो केही समयअघि ल्याएर राखिएको कपडा हो ।’
उनका अनुसार अहिले दशैंका लागि नयाँ कपडा चीनबाट निकै न्यून मात्र आएको छ ।
बजारमा २५ प्रतिशतमात्रै नयाँ कपडा
अहिले बजारमा करीब २५ प्रतिशत मात्रै कपडा चीनबाट आएको छ ।
चीनबाट निकै न्यून मात्रामा मात्रै कपडा आइरहेको हिमालय सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले लोकान्तरलाई बताए ।
उनका अनुसार अहिले विगतका आउनेभन्दा ७५ प्रतिशत कम मात्रै आयात भएको छ । अर्थात् अहिले बजारमा २५ प्रतिशतमात्रै नयाँ चिनियाँ कपडा बिक्री भइरहेको छ ।
अहिले प्रायः व्यवसायीहरूले अघिल्लो वर्ष नबिकेको कपडा बेचिरहेका छन् ।
‘अहिले व्यापार व्यवसाय चौपट छ, समयमै सामान नआएपछि व्यवसाय त गइहाल्यो,’ लोकान्तरसँग अध्यक्ष पौडेलले भने ।
कोभिड– १९ देखि नै चीनले कन्टेनरहरू कम पठाइरहेको छ । जसका कारण अहिले पनि दैनिक रूपमा ७ देखि ९ वटामात्रै कन्टेनर आइरहेको छ ।
कन्टेनर विगतको तुलनामा निकै न्यून आउँदा आवश्यक पर्ने सामानहरू नआइपुगेको अध्यक्ष पौडेल बताउँछन् ।
उनका अनुसार विगतमा चीनबाट दैनिक करीब एक सय ५० भन्दा बढी कन्टेनरमा सामान नेपाल भित्रने गरेको थियो ।
तर कोरोना शुरू भएसँगै चीनले दिनमा सामान्यतया ७ वटा कन्टेनर पठाइरहेको छ । तर कहिलेकाहीँ भने उसले ९ वटासम्म कन्टेनर पठाइरहेको अध्यक्ष पौडेलको भनाइ छ ।
मुख्य चाडपर्वमै सामान नहुँदा समस्या
विशेष गरी ग्रामीण भेगमा दशैँमा नेपालमा नयाँ कपडा लगाउने चलन अझै पनि छ ।
गाउँमा तथा शहरमा पनि प्रायले दशैंमा नयाँ कपडा किन्ने गरेका छन् ।
यसरी कपडाको माग उच्च रहने समयमा अहिले जम्मा २५ प्रतिशतमात्रै नयाँ चिनियाँ कपडा भित्रिएका छन् ।
नेपालमा चीनबाट आयात हुने कपडाको बजार हिस्सा सबैभन्दा ठूलो छ ।
अध्यक्ष पौडेलका अनुसार नेपालको करीब ७० प्रतिशत बजार चिनियाँ कपडाले ओगटेको छ ।
बाँकी ३० प्रतिशत अन्य मुलुकबाट आयात भएका र स्वदेशी उत्पादनकै कपडा प्रयोग हुँदै आएको छ ।
सामान्य अवस्थामा नेपाली बजारमा चीनबाट दशैंमा ५० प्रतिशतभन्दा बढी कपडा आयात हुने गरेको थियो ।
अध्यक्ष पौडेल भन्छन्, ‘करिब १० महिनामा ५० प्रतिशत कपडा चीनबाट आयात हुन्थ्यो । बाँकी ५० प्रतिशत दशैंतिहारमा मात्रै आयात हुन्थ्यो ।’
तर अहिले त्यो परिणाम घटेर २५ प्रतिशतमा झरेको उनको भनाइ छ ।
कन्टेनर थप्न पहल
बजारमा मालसामानको अभाव भएसँगै सरोकारवालाहरूले कन्टेनर थपेर सहज पारिदिन चिनियाँ पक्षलाई आग्रह गरिरहेका छन् ।
हिमालय सीमापार व्यापार संघका अध्यक्ष पौडेल अहिले विभिन्न सरोकारवाला निकायलाई आफूहरूले भनिरहेको भएपनि कन्टेनरमा चीनले लचिलो नीति नलिएको सुनाउँछन् ।
उनले भने, ‘हामीले सबैसँग परामर्श गरिरहेका छौँ, सहजीकरणका लागि पहल गरिदिन भनिरहेका छौँ । तर चाडबाडको मुखमै यो काम भएको छैन ।’
उनले अहिले कन्टेनर संख्या १५ देखि २० वटासम्म बनाउन आफूहरूले पहल गरिरहेको समेत बताए ।
आश्वासन आएको छ– रसुवा भन्सार
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले अहिले कन्टेनर संख्या बढाउन पहल भइरहेको लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार कोभिड अगाडि नेपाली कन्टेनर नै केरुङमा पुगेर सामान ल्याउँदथे ।
विगतमा दैनिक साढे २ सयभन्दा बढी कन्टेनरले सामान ल्याउने गरेकोमा अहिले सो संख्या ९ मा सीमित छ ।
‘पहिला अढाइ सयभन्दा बढी कन्टेनरले सामान ल्याउने ठाउँमा अहिले जम्मा ७ देखि ९ कन्टेनरले सामान ल्याएको छ,’ प्रमुख कर अधिकृत रेग्मीले भने, ‘यसबाट त व्यवसायीहरूको सामान रोकिइरहेको छ भन्ने सिधै देखिन्छ ।’
अहिले यो संख्या बढाउन पहल भइरहेको समेत प्रमुख कर अधिकृत रेग्मीले बताए ।
‘अहिले परराष्ट्र मन्त्रालय र वाणिज्य मन्त्रालयमार्फत पनि सहजीकरणका निम्ति पहल भइरहेको छ,’ उनले भने ।
उनका अनुसार नेपालको चाडपर्व लक्षित सामान सहज रूपमा उपलब्ध गराउनका लागि केही दिनमा नै कन्टेनर संख्या बढाउने आश्वासन चिनियाँ पक्षले दिएको छ ।
अहिले भइरहेको पहलमा बिहान र दिउँसो २ पटक गरेर १४ वटा कन्टेनर पुर्याउने बताइएको छ ।
‘बिहान एक शिफ्ट ७ वटा कन्टेनर पठाउने र दिउँसो पनि ७ वटा कन्टेनर पठाउन हामीले आग्रह गरेका छौँ, उताबाट पनि सकारात्मक जवाफ आएको छ,’ उनले भने ।
उनले दशैं अगाडि नै कन्टेनर थपिनेमा भने आशंका व्यक्त गरे । ‘ल्हासाबाट २/४ दिनमा नै कन्टेनर पठाउने भनिएको छ, यताउता गर्दा दशैं नसकिएला भन्न सकिन्न ।’
भन्सार विभाग भन्छ– समस्या छैन
यता भन्सार विभागले भने अहिले चीनसँगको नाकामा समस्या नभएको जनाएको छ ।
भन्सार विभागका निर्देशक पुण्य विक्रम खड्काले अहिले नाकामा समस्या नरहेको बताए ।
उनले तातोपानी भन्सारसम्म आउने कन्टेनरको संख्या पनि असोज ७ गतेदेखि थपिएको जानकारी दिए ।
सूचना अधिकारी समेत रहेका खड्काले भने, ‘तातोपानी नाकामा पहिला १० वटा मात्रै कन्टेनर आउने गरेको थियो । तर अहिले ३० वटा कन्टेनर आउने गरी सहमति भएको छ ।’
यस्तै रसुवागढीतर्फ पनि गाडीहरू थप्नका लागि उनीहरू सकारात्मक रहेको पाइएको उनले बताए ।
उनले भने, ‘पछिल्ला दिनहरूमा चीनबाट आयात हुने सामान कन्टेनर अभावमा रोकिएको जस्तो लाग्दैन, अहिले समस्या छैन ।’