
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाएको आरोप लगाएका छन् ।
‘व्यवस्था परिवर्तन भए पनि ठूला दलको प्रवृत्ति सुध्रिएन । प्रवृत्ति नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको छ,’ उनले भने ।
प्रगतिशील पत्रकार संघ बागलुङलद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘दलका रिसले राजतन्त्र मागिरहेका छन्, हामीले संघर्ष गरी ल्याएका गणतन्त्रमा कसरी धावा बोलिँदैछ ?’
दलहरू सत्ता बाहिर रहँदा राष्ट्रियता र गणतन्त्रको पहरेदार बन्ने र सत्तामा पुगेपछि आफू र आफ्नामा केन्द्रित हुँदा अहिलेको अवस्था आएको उनले बताए ।
‘संवैधानिक व्यवस्थाअनुसारनै अहिलेको सरकार बनेको हो । सरकारले ल्याएको अध्यादेश बाध्यताको उपज हो,’ उनले भने ।
अहिलेका पाँच दलीय गठबन्धन परिस्थितिको उपज भएको जनाउँदै उनले गठबन्धन टिक्ने वा टुक्रिने परिस्थितिले नै निर्धारण गर्ने बताए । रासस