
नेकपा एमालेको विधान महाधिवेशनमा अखिल नेपाल महिला संघ (अनेम संघ)ले मायाको चिनो स्वरुप स्टिकर, रिबन र सुप वितरण गरिरहेको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजबाट शुरू भएको एमालेको प्रथम विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई अनेम संघले च्याउको सुप खुवाइरहेको छ ।
सुप खुवाउनको लागि सनराइज सम्मेलन केन्द्रको पश्चिमतर्फ स्टल राखिएको छ । च्याउको सुप खानको लागि स्टलमा लाइन लागेका प्रतिनिधिलाई सबैभन्दा पहिले रिबन र स्टिकर लगाइदिने र एक कप सुप दिने गरिएको छ ।
महाधिवेशनमा सहभागी भएका प्रतिनिधिलाई मायाको चिनो स्वरुप स्टिकर र रिबन लगाइने र सुप खुवाउने काम गरेर महाधिवेशनमा अनेम संघलाई प्रतिनिधित्व गराइएको अनेम संघ ललितपुर जिल्ला कमिटीको सदस्य रमी प्रधानाङ्गले बताइन् ।

उनीहरूका लागि कस्तूरी भिल्ला होटलले सुप बनाउन सहयोग गरेर प्रयोजन गरेको उनले जानकारी दिइन् । सुप बनाउन गोदावरी क्षेत्रमै पाइने च्याउको प्रयोग गरिएको छ ।
महाधिवेशनस्थलमा उपलब्ध गराएको सुपको मूल्य तोकिएको छैन । ‘जसलाई जति मन लाग्छ उहाँहरूले खुशीले दिन पनि सक्नुहुन्छ, नदिन पनि सक्नुहुन्छ । हामीले मूल्य तोकेका छैनौं,’ प्रधानाङ्गले भनिन् ।
सुप अभियानबाट संकलन भएको रकमबाट कोष खडा गर्ने र उक्त रकम गोदावरी क्षेत्रका महिलालाई आवश्यक सहयोग गर्ने उद्देश्य रहेको उनले बताइन् । ‘अकस्मात रुपमा भैपरी आउने काममा गोदावरी क्षेत्रको महिलालाई सहयोग गर्न यो अभियानबाट संकलन भएको रकम खर्च गर्छौं,’ उनले भनिन् ।
त्यसबाहेक संकलित रकम उपयोग गरेर गोदावरी क्षेत्रका महिलालाई उद्यमशीलतामा उत्प्रेरित गर्न सहयोग गर्ने योजना रहेको उनले बताइन् ।
सुप खुवाउने अभियानमा अहिलेसम्म ६० हजार लगानी भएको उनको भनाइ छ । महाधिवेशनको तीन दिन नै महाधिवेशन प्रतिनिधिलाई सुप खुवाउने योजना रहेको उनले बताइन् ।


