
एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारी १ हप्तादेखि बेपत्ता बनेका छन् ।
सोलुखुम्बुको सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी कार्की गत शुक्रवार ४ः२५ बजेदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार अपराह्न ४ः२२ बजे साथीलाई सन्देश पठाएको र ४ः२५ बजेदेखि मोबाइल अफ भएको छ ।
मासिक बैठक सञ्चालनका लागि माप्य दूधकोशी–६ र ७ वाकुमा २ कर्मचारीसँगै गएका भए पनि सोलाबनबाट हाकुला झर्नेेक्रममा छुट्टिएपछिको अवस्था थाहा नभएको मनकुमारीका बुबा चित्रबहादुर कार्कीले बताए ।
सम्पर्कविहीन भएको थाहा हुने बित्तिकै स्थानीय, वाकु प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय सोताङकाटबाट प्रहरी निरीक्षक नवीन राईको टोली परिचालन भए पनि पत्ता लगाउन नसकेपछि सोमबार जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवालको टोली समेत घटनास्थल पुगेको थियो ।
अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक कटवालको टोली २ दिनपछि जिल्ला फर्किएको छ भने १ हप्तापछि प्रहरी निरीक्षक राईको टोली समेत फर्केको छ । अहिले प्रहरीचौकी वाकुको टोलीले त्यस क्षेत्रमा अनुसन्धानसहित खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट फर्केको टोलीले अहिले थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक कटवालले जानकारी दिए ।