२५ जेठ २०८३, सोमबार

एमाले विधान महाधिवेशनको दोस्रो दिन : गोदावरीमा के–के हुँदैछ ?

असोज १६, २०७८
एमाले विधान महाधिवेशनको दोस्रो दिन : गोदावरीमा के–के हुँदैछ ?

नेकपा एमालेको प्रथम विधान महाधिवेशन शनिवार पनि जारी छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रवार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदनमा शनिवार समूहगत छलफल हुनेछ ।

विभिन्न १० समूहमा समूहगत छलफल हुने एमालेका केन्द्रीय सदस्य तथा प्रचारप्रसार उपसमिति संयोजक खिमलाल भट्टराईले जानकारी दिए ।

उनका अनुसार शनिवार तीनै वटा प्रतिवेदनमाथि समूहगत छलफल भएपछि समूह नेताले प्रस्तुति गर्ने छन् । राजनीतिक प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओली, सांगठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए ।

३ वटै प्रतिवेदनमाथि समूहगत छलफलका लागि १ नम्बर प्रदेशको समूहको सहजीकरण सुवास नेम्वाङ र भीम आचार्यले गर्नेछन् । २ नम्बर प्रदेशको समूहको सहजीकरण सत्यनारायण मण्डल र रघुवीर महासेठ, बागमती प्रदेश समूहको सहजीकरण अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा, गण्डकी प्रदेश समूहको सहजीकरण पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले तथा लुम्बिनी प्रदेश समूहको सहजीकरण विष्णु पौडेल र शंकर पोखरेलले गर्नेछन् ।

कर्णाली प्रदेश समूहको सहजीकरण युवराज ज्ञवाली र यामलाल कँडेल, सुदूरपश्चिम प्रदेश समूहको सहजीकरण भीम रावल र लेखराज भट्टले गर्नेछन् । 

उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्रबाट आएकाको समूहको सहजीकरण छविलाल विश्वकर्मा र राजन भट्टराई, जनसंगठनको समूहको सहजीकरण गोकर्ण विष्ट र टोपबहादुर रायमाझी, केन्द्रीय निकाय तथा केन्द्रीय विभाग समूहको सहजीकरण अमृत बोहरा र पुष्प कँडेलले गर्नेछन् ।

केन्द्रीय सदस्य भट्टराईका अनुसार अपराह्न २ बजेसम्म समूहगत छलफल सकिएपछि समूह नेताले शनिवारै प्रतिवेदनमाथि सुझाव पेश गर्नेछन् । ती सुझावका आधारमा आइतवार राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओली, सांगठनिक प्रतिवेदनमा महासचिव पोखरेल र विधान संशोधन प्रस्तावमा उपमहासचिव पौडेलले जवाफ दिनेछन् ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार महाधिवेशनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरिएको छ । महाधिवेशनको प्रस्ताव मस्यौदा कमिटी, सुझाव अध्ययन कमिटी, बहस नोट कमिटी र प्रचार समन्वय कमिटी समेत गठन गरिएको छ ।

महाधिवेशनमा ६ हजार ३४७ प्रतिनिधि सहभागी छन् । महाधिवेशन आइतवारसम्म सञ्चालन हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्