
एथलेटिक बिल्बाओले स्पेनिस ला लिगामा कठिन जित निकालेको छ ।
घरेलु मैदानमा शुक्रवार राति भएको खेलमा बिल्बाओले डिर्पोटिभो अलाभेसलाई १–० गोलले हरायो ।
प्रतिस्पर्धात्मक खेलमा बिल्बाओलाई जिताउन राउल गार्सियाले निर्णायक गोल गरे । गार्सियाले ४४औं मिनेटमा इनिगो लेक्वेको पासमा गोल गरेका थिए ।
यसअघि गार्सियाले नवौं मिनेटमा पेनाल्टी मिस गरेका थिए । गार्सियाको प्रहारलाई अलाभेसका गोलरक्षक फर्नान्डो पाचेकोले सजिलै विफल पारेका थिए ।
५६ प्रतिशत बल पोसेसन राखेको बिल्बाओले दोस्रो हाफमा खासै आक्रमण बुन्न सकेन । खेलभर बिल्बाओले १६ वटा पोस्ट प्रहार गरेको थियो । ४४ प्रतिशत बल पोसेसन राखेको अलाभेसले गोल फर्काउन सकेन । १७ वटा पोस्ट प्रहार गरेको अलाभेसको प्रयासमा बिल्बाओको रक्षापंक्ति बाधक बनेको थियो । बिल्बाओका इनाकी विलियम्स ‘म्यान अफ दी म्याच’ भए ।
जितसँगै बिल्बाओ छैटौं स्थानमा उक्लिएको छ । आठ खेलमा तीन जित, चार बराबर र एक हार खेपेको बिल्बाओको १३ अंक पुगेको छ । पराजित अलाभेस तीन अंक सहित १९औं स्थानमा छ ।
सात खेल सकेको अलाभेसले एउटा खेलमात्र जितेको छ । लिगको शीर्षस्थानमा रहेको रियल म्याड्रिडको १७ अंक छ । दोस्रो स्थानमा रहेको रियल सोसिडाडको १६, तेस्रो र चौथो स्थानमा रहेको सेभिया र साविक विजेता एट्लेटिको म्याड्रिडको समान १४ अंक छ ।
विश्वकै चर्चित लिगमध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रत्यक्ष हेर्न पाइने व्यवस्था छ । ला लिगाको नेपालका लागि पे टीभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।
ला लिगाका खेलहरू एक्सन स्पोर्टस एचडी २ मा प्रसारण भइरहेको छ ।