२३ जेठ २०८३, शनिबार

एमालेको विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल

एमालेको विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल

नेकपा एमालेको विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजहरूमाथि समूहगत छलफल भइरहेको छ । 

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल भइरहेको हो । 

महाधिवेशनमा देशभरका ६ हजार ३४७ जना प्रतिनिधिहरू सहभागी भएका छन् । १० वटा समूह बनाएर तीनवटै प्रस्तावमाथि बिहान ८ बजेबाटै छलफल शुरू गरिएको पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

एमालेले पहिलो पटक पार्टीको नीति र विधि निर्माणका लागि छुट्टै विधान महाधिवेशनको आयोजना गरेको हो । भोलि आइतवार प्रस्तुत प्रतिवेदनहरूमाथि प्रतिनिधिहरूले उठाएका प्रश्नको जवाफ दिएपछि सो महाधिवेशन समापन हुनेछ । 

अध्यक्ष ओलीले शुक्रवार सो महाधिवेशनको उद्घाटन गर्दै पार्टी विभाजनको मुख्य योजनाकार पुष्पकमल दाहाल र माधव नेपाल भएको आरोप लगाएका थिए । त्यसै गरी उनले सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाले पनि आफ्नो पार्टी विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै आपत्ति जनाएका थिए । 

१० औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर दोस्रो साता हुने र त्यसले पार्टीको नेतृत्व चयन गर्ने एमालेले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्