२७ असार २०८३, शनिबार

व्यक्तिवादी चरित्रलाई पछार्न नसकेपछि विद्रोह गर्‍यौं : महासचिव भुसाल

असोज १६, २०७८
व्यक्तिवादी चरित्रलाई पछार्न नसकेपछि विद्रोह गर्‍यौं : महासचिव भुसाल
फाइल फोटो

नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले नेकपा एमालेमा हुर्किएको व्यक्तिवादी चरित्रलाई पछार्न नसकेपछि विद्रोह गरेर नयाँ पार्टी स्थापना गरेको बताएका छन् ।

शनिवार नेकपा एकीकृत समाजवादीको भक्तपुर जिल्ला कार्यालयको उद्घाटन तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले पार्टीमा विद्रोह गर्नुपरेको स्पष्टीकरण दिए ।

एमाले विचारको सम्मान गर्न नसकेको तथा अल्पमतको सम्मान गर्न नसकेको आरोप लगाउँदै उनले समाजवादी क्रान्तिको युग शुरू भएको दाबी गरे । आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई नछाडेको दाबी गर्दै उनले जबज हुबहु आत्मसात गर्नुपर्ने आवश्यकता नभएकाले यसको मुलभूत अवधारणालाई मात्रै आत्मासात गरेर जाने बताए ।

नेकपा समाजवादीको समाजवादको दृष्टिकोण फरक रहेको भन्दै उनले श्रमजीवी जनताको पक्षमा जनतालाई सर्वोपरि राख्दै समाजवादको यात्रामा अगाडि बढेको उनको भनाइ छ । नेताको होइन, नीतिको पक्षमा लाग्न कार्यकर्तालाई आह्वान गर्दै महासचिव भुसालले भने, ‘हाम्रो पार्टीले जिउँदो नेताको तस्वीरमा माला लगाउँदैन, मञ्चमा बसेर खादा र माला ओढ्दैन, नेता होइन, नीति मान्छ, व्यक्ति होइन, विचार मान्छ ।’

नेमकिपाले विचारलाई व्यक्तिवादी बनाउँदा भक्तपुरको एउटा नगरपालिकामा सीमित भएको भन्दै उनले अब आफ्नो पार्टी नीतिमा युवाको नेतृत्वमा अगाडि बढ्ने बताए ।

कार्यक्रममा एकीकृत समाजवादी भक्तपुरका अध्यक्ष श्यामसुन्दर बस्नेतले भक्तपुरबाट समाजवादीको यात्रा शुरू भएको बताउँदै तिहार अगाडिसम्ममा भक्तपुरका ३८ वडा, ४ नगरपालिकामा संगठनलाई विस्तार गर्ने र सबै भातृ संगठनलाई पूर्णता दिने बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्