२४ जेठ २०८३, आइतबार

एमालेलाई महाधिवेशनमा प्रतिनिधिको सुझाव: पोलिटब्युरो राखौँ, ७० वर्षे उमेर हद चाहिँदैन

एमालेलाई महाधिवेशनमा प्रतिनिधिको सुझाव: पोलिटब्युरो राखौँ, ७० वर्षे उमेर हद चाहिँदैन

एमालेको विधान महाधिवेशनको तेस्रो दिन आज सुझाव पेश गर्ने प्रतिनिधिहरूले एमालेको संगठन संरचनामा पोलिटब्युरो राख्नुपर्ने र ७० वर्षे उमेर हद हटाउँदा पनि हुने रिपोर्टिङ गरेका छन् ।

पार्टीको पदाधिकारीमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था गरेर पदाधिकारीमा उम्मेदवार बन्नको लागि ७० वर्षे उमेर हद राखिराख्नु आवश्यक नभएको बताएका छन् । 

महाधिवेशनमा प्रस्तुत भएको तीन दस्तावेजको अध्ययन र छलफल गरी सुझाव पेश गर्न बनाइएको १० समूहमध्ये पाँच समूहले आज समूहको सुझाव महाधिवेशन हलमा रिपोर्टिङ गरेका छन् । 

गण्डकी प्रदेश समूहको रिपोर्टिङ गर्दै समूह नेता जगत विश्वकर्माले पार्टीमा वरिष्ठ उपाध्यक्ष १ उपाध्यक्ष ७ उपमहासचिव ३ र सचिव ७ आवश्यक रहेको सुझाव आफ्नो समूहमा आएको उल्लेख गरेका छन् । त्यसै गरी महिलाको प्रतिनिधित्व पदाधिकारीमा पनि ३३ प्रतिशत हुनुपर्ने तथा पोलिटब्युरो राखिनुपर्ने सुझाव गण्डकी समूहले दिएको छ । 

विधान संशोधन प्रस्तावमा उल्लेख भएको केन्द्रीय सचिवालय आवश्यक नभएको विश्वकर्माले बताए । विधान संशोधन प्रस्तावमा अध्यक्षको नेतृत्वमा पदाधिकारी रहेको सचिवालय बनाउने, स्थायी कमिटी ४१ सदस्यीय बनाउने र पोलिटब्युरो हटाउने प्रस्ताव गरिएको छ । 

गण्डकी प्रदेश समूहले हरेक कमिटीमा एक तिहाइ युवाको उपस्थित हुनुपर्ने सुझावसमेत दिएको छ । पूर्वपदाधिकारीका हकमा एउटा नयाँ नियम बनाउनुपर्ने सुझाव आएको रिपोर्टिङ  विश्वकर्माले गरेका छन् । 

त्यसै गरी गण्डकी प्रदेश समूहले विश्व राजनीति र एमसीसीको बारेमा पार्टीको स्पष्ट धारणा आउनुपर्ने बताएका छन् । 

निर्वाचन लड्नै नसक्ने अवस्था आएकाले संयुक्त मोर्चा बनाएर जानुपर्ने सुझाव आफ्नो समूहका आएको उनले रिपोर्टिङ गरेका छन् । त्यसै गरी अहिलेको एमाले तत्कालीन नेकपाको निरन्तरको हो वा परिस्कृत एमाले हो भन्ने विषय प्रतिवेदनमा थप स्पष्ट हुनुपर्ने उनले बताए । 

एमाले विधान महाधिवेशनमा प्रदेश २ समूहको तर्फबाट सुझाव पेश गर्दै माओवादी पृष्ठभूमिबाट आएका नेता कार्यकर्तालाई विभेद नहोस् भन्ने सुझाव समूहकी नेता ज्वाला सिंहले राखेकी छन् । 

उनले जनताको बहुदलीय जनवाद (जबज)लाई आत्मसात् गर्दै समाजवादको बाटो अपनाउनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको लागि पार्टीले नीति बनाउनुपर्ने लगायतको सुझाव प्रदेश २ समूहमा आएको बताइन् । 

त्यसै गरी राज्यका निकायमा मधेशी, महिला र जनजातिको समान सहभागिता सुनिश्चित हुने व्यवस्था मिलाउनु पर्ने सुझाव उनले राखेकी छन् । 

पार्टीमा उमेर हदभन्दा पनि एक व्यक्ति कुनै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था हुनुपर्ने सुझाव आएको रिपोर्टिङ उनले महाधिवेशन हलमा राखेकी छन् ।

आज बाँकी सबै समूहले रिर्पोटिङ गरेपछि महाधिवेशन प्रतिनिधिले उठाएका विषयमा एमाले अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेलले जवाफ दिएपछि विधान महाधिवेशन समापन हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्