केशरमहलस्थित राहदानी विभाग छेउछाउ पुग्नुभयो भने निकै भीडभाड देख्नुहुनेछ, लाग्छ कुनै सस्तो बजार वा मेला लागिरहेको छ ।
भीडलाई सडक पार गराउन र सवारीसाधनलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीलाई समेत हम्मेहम्मे परेको देख्न सकिन्छ ।
तर, यो भीड कुनै सस्तो बजार वा मेलाको भने होइन । यो भीड त वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउन आउनेको हो ।
राहदानी बनाउन आएका दाङका तिलक खत्री चार दिनदेखि राहदानी विभागको चक्कर काटिरहेका छन् ।
कहिले पालो आउने बेला समय सकियो भनेर फर्काइदिन्छन् कहिले भोकभोकै बिहानैदेखि चर्को घाममा लाइन बस्नुपरेको उनी बताउँछन् ।
तिलकजस्तै पीडित बागलुङका नारायण खड्का पनि हुन् । उनले राहदानी भने पाए तर द्रुत गतिमा राहदानी लिने शुल्क तिरे पनि धेरै चक्कर काट्न परेको उनको गुनासो छ ।
राहदानी विभागका निर्देशक एवं प्रवक्ता राजेन्द्र पाण्डेले सीमित जनशक्तिमा काम गर्नु परेकाले दिनमा ८०० भन्दा बढी लिन नसकिने बताए ।
उनले इलेक्ट्रोनिक राहदानीको तयारी भइरहेकाले कात्तिक अन्तिमबाट समस्या समाधान हुने बताए ।
इलेक्ट्रोनिक राहदानीको तयारी सकिएपछि सहज हुने भए पनि हालको समस्यालाई भने नजरअन्दाज गर्न मिल्दैन ।
सेवाग्राहीसँग द्रुत गतिमा राहदानी बनाउने रकम असुल गर्ने तर उनीहरूलाई छिटोछरितो सेवा कहिल्यै दिन नसक्ने हाम्रो सरकारी निकायको नियति नै भइसक्यो । यसमा सुधार जरूरी छ ।