०७ साउन २०८३, बिहीबार
एमालेको विधान महाधिवेशन

अध्यक्षमा फेरि दाबी गर्दै ओलीले भने: 'मधुकैटभले हल्लाउन नसक्ने बनाएर पार्टी जिम्मा लगाउँछु'

असोज १७, २०७८
अध्यक्षमा फेरि दाबी गर्दै ओलीले भने: 'मधुकैटभले हल्लाउन नसक्ने बनाएर पार्टी जिम्मा लगाउँछु'
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न महाधिवेशनमा पुन: अध्यक्षको उम्मेदवार बन्ने संकेत गरेका छन् ।

उनले पार्टीलाई कसैले हल्लाउन नसक्ने बनाएर भावी पुस्तालाई जिम्मा लगाउने जिकिर समेत गरे ।

'मलाई अगुवाको रूपमा, प्रिय साथीको रूपमा दिएको विश्वास एक थोपो पनि तलमाथि पर्ने छैन । देशको हितविरुद्ध, जनताको हितविरुद्ध तलमाथि पर्ने छैन,' ओलीले भने, 'नेकपा एमालेलाई मधुकैटभले हल्लाउन नसक्ने अवस्थामा पुर्‍याएर तपाईंहरूलाई जिम्मा लगाउँछु ।'

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मधुकैटभ भनेर कटाक्ष गर्दै आएका छन् ।

उनले आफूलाई देवत्वकरण गरिएको भन्ने आरोपको पनि खण्डन गरे । नेतृत्वको वरिपरि कार्यकर्ता गोलबन्द हुनु स्वाभाविक भएको उनको जिकिर छ ।

'लिडरशिप हुन्छ । लिडरशिपका वरिपरि कार्यकर्ता गोलबन्द हुन्छन्,' ओलीले भने, 'पुष्पलालका वरिपरि गोलबन्द भएनन् ? कार्ल मार्क्सकावरिपरि गोलबन्द भएनन् ? लेनिनकावरिपरि सिंगै रूस गोलबन्द भएन ? माओका वरिपरि सिंगै चीन गोलबन्द भएर जनवादी क्रान्ति पूरा गरेन ?'

ओलीले थपे, 'मदन भण्डारी हुँदा देख्न सकिएन । पुष्पलाल हुँदा पनि तपाईं नेता हो भनिरहने तर महासचिव बन्न नदिने । नीति पास हुने, नेता बन्न नदिने । नेतृत्व स्थापित भएन भने पार्टी बन्न सक्दैन ।'

'म बाँचेकैमा चिन्तित छन् त के गरौं'

ओलीले आफू बाँचेकैमा विरोधीहरू चिन्तित रहेको जिकिर समेत गरे ।

'अहिले हाम्रा विरोधीहरू दुई कुराले चिन्तित छन्, एउटा म बाँचिरहेकाले...., किड्नी फेर्छ बाँच्छ, मेनिन्जाइटिस हुन्छ, तर बाँच्छ भनेर चिन्तित छन् । अर्को कार्यकर्ताले र जनताले धेरै माया गर्छन्, त्यसैले चिन्तित छन्,' ओलीले भने, 'बाँचेकैमा चिन्तित छन्, त म के गरौं ।'

salt training

कमेन्ट गर्नुहोस्