
दाङमा चालु आर्थिक वर्षको हालसम्म विभिन्न विपद्का घटनामा परी १३ जनाको मृत्यु भएको छ । विपद्बाट करिब रु साढे तीन करोड बराबरको क्षति भएको जिल्ला आपत्कालीन कार्य सञ्चलन केन्द्रले जनाएको छ ।
केन्द्रका सूचना व्यवस्थापक अधिकृत विश्वप्रकाश अर्यालका अनुसार घर भत्किएर, खोला तथा नदीले बगाउँदा १२ जनाको मृत्यु भएको हो । एक जना अझै बेपत्ता रहेका छन् । त्यस्तै अविरल वर्षाका कारण २०५ वटा घर भत्किएका छन् ।
यसैगरी विपद्बाट १०० भन्दा बढी पशुचौपाया मरेको अधिकृत अर्यालले जानकारी दिए । उनका अनुसार हालसम्म घर भत्किएका परिवार तथा मृतकका परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट रु ५२ लाख ७५ हजार राहत वितरण गरिएको छ ।
घर भत्किएका परिवारलाई रु १५ देखि २० हजार र मृतकका परिवारलाई रु दुई लाख राहत दिने गरिएको अर्यालले बताउनुभयो । विपद्का कारण सबैभन्दा बढी घोराही उपमहानगरपालिकाका नागरिकले ज्यान गुमाएका छन् । त्यस्तै, तुलसीपुर, शान्तिनगर, बङ्गलाचुली, दङ्गीशरण, गढवा र लमही नगरपालिका नागरिकले ज्यान गुमाएका छन् ।
दाङमा गत आर्थिक वर्षमा विपद्का घटनामा परेर ४९ जनाको मृत्यु र २६ जना घाइते भएका थिए । तीमध्ये १४ महिला र ३५ पुरुष रहेको केन्द्रले जनाएको छ ।