
भारतको उत्तर प्रदेशमा रहेको लखीमपुरमा आइतवार भएको हिंसामा केन्द्रीय सरकारका मन्त्री अजय कुमार मिश्रा तेनीका छोरा आशिष मिश्रा र उनका सहयोगीहरूका विरुद्ध प्रहरीले उजुरी दर्ता गरेको छ ।
लखीमपुर खेरीमा विरोध प्रदर्शन गरिरहेका किसानहरूलाई एउटा कारले हिर्काएपछि भड्किएको हिंसाका कारण आठजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार, गाडीहरूको जत्थाले हिर्काउँदा चारजना किसानको मृत्यु भएको हो भने एउटा गाडीमा रहेका चारजना व्यक्तिलाई भीडले कुटपिट गरी मारेको हो । घटनामा एकजना पत्रकार गम्भीर घाइते भएकोमा उपचारका क्रममा उनको पनि मृत्यु भएको छ ।
उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव प्रसाद मौर्यले उक्त क्षेत्रको भ्रमण गर्नुभन्दा ठीक अघि हिंस्रक घटना भएको हो ।
किसानहरूले तीन नयाँ कृषि कानूनको विरोध गरिरहेका छन् ।
किसान संघहरूको छाता संगठन संयुक्त किसान मोर्चाले एक बयान जारी गर्दै चारमध्ये एक किसानलाई मन्त्री मिश्राका छोराले गोली हानेर हत्या गरेको आरोप लगाएको छ । तर मिश्राले आफ्नो छोरा घटना हुँदा घटनास्थलमा नरहेको र उसको जीपबाट भारतीय जनता पार्टीका कार्यकर्तालाई उक्त स्थानमा लगिएको बताए ।
‘मेरो छोरा घटनास्थलमा थिएन । कार्यकर्ताहरूलाई बदमासहरूले लट्ठी र तरवारले आक्रमण गरेका थिए । मेरो छोरा त्यहाँ हुन्थ्यो भने जिउँदो नफर्कने रहेछ,’ उनले बताए ।
भाजपा कार्यकर्ताको हत्या गर्नेहरूविरुद्ध धारा ३०२ पनि लगाउने उनको भनाइ छ ।
लखीमपुर खेरी जिल्ला प्रशासन र प्रहरीले किसान नेता राकेश टिकैतसँग कुराकानी गरिरहेका छन् । विरोध प्रदर्शन रोक्ने र पीडितको शवलाई पोस्टमार्टमका लागि पठाउने विषयमा वार्ता चलिरहेको हो ।