०६ असार २०८३, शनिबार

बैतडीमा हत्या आरोपमा दुई जना पक्राउ

असोज १८, २०७८
बैतडीमा हत्या आरोपमा दुई जना पक्राउ

बैतडीको दशरथचन्द नगरपालिका–५, दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । 

सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतवार घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । 

गत भदौ १० गते भीरबाट लडेर मृत्यु भएको भनिएका विजयको हत्या भएको भन्दै किटानी जाहेरी दर्तापछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  

विजयका बुबा वीरसिंह भाटले जिल्ला सरकारी वकिल कार्यालयमार्फत दशरथचन्द नगरपालिका–५ का अशोक, लक्ष्मण नाथ, राजेन्द्र नाथ र महेश नाथको नाममा किटानी जाहेरी दर्ता गराएका थिए । 

किटानी जाहेरीपछि जिल्ला अदालतबाट अनुमति मागेर उनीहरूको नाममा पक्राउ पूर्जी जारी गरिसकेपछि आज समातेको हो । उक्त घटनामा संलग्न रहेका लक्ष्मण र राजेन्द्र भने फरार रहेका र उनीहरूको खोजी जारी रहेको छ ।

युवा संघ नेपाल बैतडीका सदस्यसमेत रहेका विजय गत भदौ १० गते साथीसँग गोठलापानी बजारबाट घर फर्किने बेला कलुवाडमोड भन्ने भीरबाट लडेर गम्भीर घाइते भएका बताइएको थियो । 

घाइते युवकको भदौ १२ गते धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको थियो । लडेको भनिएको ठाउँमा त्यस्तो भीर नभएको र विजयसँग भएकाले पनि अलगअलग कुरा गर्न थालेपछि छोराको हत्या भएको मृतकका बुबा भाटको दाबी रहेको छ । 

प्रहरीले जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी पक्राउ परेकामथि र घटनाबारे अनुसन्धान गर्ने जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्