
नेकपा एमालेले कार्यकाल बाँकी रहेका स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरेको छ ।
राष्ट्रिय सभा गृहमा अहिले जनप्रतिनिधिहरूको भेला भइरहेको छ । एमालेले कार्यकाल सकिन करीब ६ महिना बाँकी रहेका जनप्रतिनिधिको भेला बोलाएको हो ।
एमालेको प्रथम विधान महाधिवेशनमा सहभागी हुन जनप्रतिनिधिहरू काठमाडौं आएको अवसर पारेर भेला बोलाइएको हो ।
एमालेले विधान महाधिवेशनमा एमालेको टिकटमा निर्वाचन जितेका स्थानीय तहका प्रमुख र उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुखलाई पनि सहभागिताको लागि बोलाएको थियो ।
भेलालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । अहिले भने नेकपा एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेलले सम्बोधन गरिरहेका छन् ।
असोज १५ देखि १७ सम्म चलेको एमालेको विधान महाधिवेशनले आगामी निर्वाचनमा पनि एमालेलाई ठूलो दल बनाउने र अधिकतम स्थानीय तहमा निर्वाचन जित्ने कार्यदिशा पारित गरेको छ ।
अहिले पनि स्थानीय तहमा एमाले पहिलो दल नै हो । आगामी निर्वाचनमा पनि स्थानीय, प्रदेश र संघीय सरकारमा पनि एमालेको वर्चश्व कायम गर्ने कार्यनीति एमालेले विधान महाधिवेशनबाट पारित गरेको छ । त्यसैको तयारीको लागि एमालेले जनप्रतिनिधिहरूको भेला बोलाएको बताइएको छ ।