
जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न मुद्दाका ७ फरार प्रतिवादी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलारी गाउँपालिका–१ बस्ने विनोद चौधरी छन् ।
उनलाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले ३ वर्ष ११ महिना ५ दिन कैद सजाय तोकेको थियो । विक्रम संवत् २०७५ भदौ २० गतेदेखि उनी फरार रहेका थिए ।
प्रहरीले कैलालीकै बर्दगोरिया–६ बस्ने २२ वर्षीय अशोक चौधरीलाई पनि पक्राउ गरेको छ । उनलाई जबरजस्ती करणीको कसूरमा अदालतले ३ वर्ष कैद सजायको फैसला गरेको थियो । उनी २०७२ असार २१ गतेबाट फरार रहेको प्रहरीले जनाएको छ ।
कैलाली जिल्ला अदालतबाट लागूऔषध मुद्दामा २०६६ वैशाख १२ गते ५०० रुपैयाँ जरिवाना भई फरार रहेका धनगढी उपमहानगरपालिका–१ बस्ने शत्रुजित जोशीलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
अन्य पक्राउ पर्नेमा वन मुद्दाका फरार प्रतिवादी धनगढी उपमहानगरपालिका–१७ बस्ने १८ वर्षीय अमन चौधरी, सोही ठाउँका २९ वर्षीय कृष्ण राना, १८ वर्षीय अभिषेक चौधरी र ३० वर्षीय बब्लु राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए ।
उनीहरूलाई २०७८ साउन ८ गते गौरीगंगा नगरपालिका–६ मा विना इजाजत वन पैदावार ओसारपसार गरेको अभियोगमा डिभिजन वन कार्यालयले मुद्दा दायर गरी वन ऐन २०७६ को दफा ५८ (२) बमोजिम जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।
आवश्यक कानूनी कारवाहीका लागि चारै जनालाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।