नेपाल ल्यूब आयल लि.को ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारणसभाबाट कम्पनीले उच्च लाभांश पारित गरेको छ ।
कम्पनीले शेयर धनीहरुलाई ३५ प्रतिशत लाभांश (३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परीक्षक, व्यवस्थापक समूह र अन्य शेयर धनीहरुका उपस्थिति रहेको थियो ।
स्वयम् उपस्थितीबाट ५३.१२ प्रतिशत र भर्चुअल माध्यम बाट २५.४९ प्रतिशत गरी ७८.६ प्रतिशत सहभागी रहेको र उपस्थितहरु बीच दुरी कायमका साथै अन्य स्वास्थ्य मापदण्ड पालना गरी सभा सम्पन्न भएको थियो ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले भने, “नेपाल ल्यूब आयल लिमिटेड, चलिरहेको महामारीले अगाडि राखेका चुनौतीहरूको बावजुद उत्कृष्ट बृद्धि हासिल गर्न सक्षम भएको छ । चालू आर्थिक बर्षको लागी, हामीले गत वर्ष भन्दा विक्री वितरण दोब्बर बनाउने र पूर्वाधारमा लगानी तथा उत्पादन क्षमता तीन गुणा बढाउने लक्ष्य राखेका छौं । यस्तै बजारमा लुब्रीकेन्ट सहित ब्याट्री र सोही प्रकृतिको सामान रिटेलरहरु मार्फत कारोवार हुने वस्तु टायरको समेत कारोवार गर्ने लक्ष्य लिएका छौ, जस अन्र्तगत ब्याट्री को विक्री वितरण सुरु भैसकेको छ । कम्पनीले आफ्ना उत्पादित र विक्रि वितरण गरिने वस्तुहरुको गुणस्तर र मानव संशाधन विकासको लागी आफ्नो प्रतिबद्धतालाई सदैव मूख्य मार्गदर्शनको रुपमा लिएर अगाडि बढिरहनेछ ।
बैठक पछि एक शेयरधनीले आफ्नो उत्साह शेयर गर्दै भने, “१५ बर्ष पहिले, हामीले कम्पनीको भविष्यमा शंका गरेका थियौं, तर विगत ६–७ बर्ष देखि कम्पनीले राम्रो लाभांश वितरण गरीरहेको छ र यस बर्ष कम्पनीले ३५% को उच्च लाभांश वितरण गरेको छ । यो नेपालको कुनै पनि कम्पनीले देखाएको उत्कृष्ट प्रदर्शन हो, त्यसमा पनि निजीकरण गरिएका कम्पनी र अन्य कम्पनीहरुले पनि व्यापार व्यवसाय स्वच्छ रुपमा कसरी गर्ने र कम्पनी कसरी चलाउने भनेर नेपाल ल्युव आयल लिमिटेडका पदाधिकारीबाट सिक्न सक्दछन् भनेर नमूना उद्योगको रुपमा स्थापित गर्न सफल भएको छ भने।
नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री/वितरण समेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो र यसको ब्राण्डिङ्ग साझेदारीमा म्यानचेष्टर यूनाईटेड फूटबल क्लब, म्याकल्यारेन रेसिङ्ग कार र चेन्नई सूपर सिङ्ग जस्ता आफ्ना क्षेत्रका प्रतिष्ठित र स्थापित नामसँग रहेको छ ।